वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने हुम्लाका महेन्द्र पाण्डे पक्राउ

जनता संवाददाता
२०८१ माघ ७ गते, सोमबार

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा भएको आक्रमण प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।

हुम्ला अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौं सूर्यदर्शन हाइटमा बसोबास गर्दै आएका महेन्द्र पाण्डे (महानन्द जैसी) लाई प्रहरीले टोखा-३ बाट नियन्त्रणमा लिएको हो।

यही माघ २ गते अदालतको दक्षिण गेटबाहिरको सार्वजनिक सडक खण्डमा ज्रेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा अधिवक्ता त्रिपाठीमाथि भिडभित्र रहेका केही व्यक्तिहरूले हुलहुज्जत गर्दै आक्रमण गर्न खोजेका थिए।

तत्काल प्रहरी परिचालित भई अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो।

प्रहरी वृत्त सिंहदरबारले पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। यसैगरी, उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ माघ ७ गते, सोमबार


Scroll to Top

Janata Media