पिएम कपमा आर्मी ६ विकेटले विजयी

जनता संवाददाता
२०८१ चैत्र ८ गते, शुक्रबार

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले दिएको ११७ रनको मध्यम लक्ष्य २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पूरा गर्यो ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा आर्मीका तृतराज दासले ६८ बलमा ३ चौकासहित ३७ रन जोडे । बसिर अहमद ३८ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रए ।

ईमरान सेखले १६ बलमा १ चौकासहित १२ रन जोड्दा भीम सार्कि १५ बलमा १ चौकासहित १४ जोडेर आउट । सोमपाल कामीले २१ बलको सामना गर्दै १० रनमा अविजित रए ।

गण्डकीका चन्द्र पौडेलले ६ ओभरमा २३ रन दिएर १ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा २० रन दिएर १ विकेट लिँदा सुवास भण्डारीले ७ दशमलव ५ ओभरमा १ विकेट लिए । सुदीप अर्यालले ४ ओभरमा २२ रन दिएर १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी पदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जोडेको थियो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएका थिए । उनले ४९ बल खेल्दै ४ चौकाको मद्दतमा ३३ रन जोड्दै साहब आलमको बलमा बोल्ड आउट भए ।

पहिलो विकेटका लागि १२ दशमलव ३ ओभरमा ४६ रनको साझेदारी गरेका अर्जुन र समीर कँडेलको विकेट पतनपछि गण्डकीका अरुका खेलाडी सस्तैमा समेटिए ।

समीर ८ रन जोडेर साहब आलमको बलमा पहिलो विकेटका रुपमा आउट भएपछि गण्डकीका अरु खेलाडीले पारी सम्हाल्न संघर्ष गर्नु पर्यो ।

दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा आउट भए । अरु खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

आर्मीका साहब आलमले एक्लै पाँच विकेट चट्काए । उले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बल फाल्दै १ रन दिएर २ विकेट लिए ।

आर्मीलाई जीत दिलाउन महत्त्वपूर्ण पाँच विकेट लिएका साहब आलम प्लेयर अफ द म्याच भए। दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टीम बीच खेल भइरहेको छ ।

अहिलेसम्म ७ खेल खेलीसकेको आर्मी ६ मा जीत र १ मा हार व्यहोर्दै १२ अंकका साथ दोस्रो स्थानमा यथावत रहँदा समान ६ खेल खेलीसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशौँ स्थान अर्थात पुछारमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते, शुक्रबार


Scroll to Top

Janata Media