जनताले हराएका विश्वलाई सरकारले जितायो

जनता संवाददाता
२०८२ जेष्ठ ६ गते, मंगलवार

काठमाडौँ । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालसँग हारेका डा।विश्व पौडेललाई सरकारले गर्भनर बनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।”

उनले सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते, मंगलवार


Scroll to Top

Janata Media