काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत दुर्गबहादुर ओलीसहित चार जनाविरुद्ध २१ लाख ६३ हजार ८६५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७९र८० मा जिल्ला रुकुम पश्चिम पिपलकाँडा मेलगैरी सडक निर्माण योजनाका लागि सङ्घीय सरकारबाट प्राप्त रकममध्येबाट लागत अनुमान भ्याटसहित एक करोड ९९ लाख ८२ हजार ७९३ रुपियाँ कायम भएको योजना सञ्चालनमा बाँफिकोट गाउँपालिका र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोटबिच ७७ लाख ४४ हजार ५७० रुपियाँ मा सम्झौता भएको थियो ।
सो निर्माण कार्यको प्रतिवेदन अनुसार फिल्डमा २९ सय मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७ सय मिटर उल्लेख गरी फिल्डमा भएको कामभन्दा बढी सडक निर्माण भएको भनी नापी किताब तयार गरे, गराएको, लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको भनी प्रतिवेदन तयार पारी २१ लाख ६३ हजार ८६५ रुपियाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी दिनेरलिने कार्य गरी गैरकानूनी लाभ पु¥याउने कार्य गरेको पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
बाँफिकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, रुकुम पश्चिमका प्राविधिक खा।पा।स।टे। दल बहादुर ओली, लेखापाल महेन्द्र शर्मा, पिपलकाँडा मेलगैरी सडक योजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्त बहादुर बस्नेतविरुद्ध बिगो रकम २१ लाख ६३ हजार ८६५ रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।







