काठमाडौं । झापामा डेंगु संक्रमण फैलन सुरु गरेको छ। गर्मी बढेसँगै डेंगुको संक्रमण बढ्न थालेको बताइएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा एक बालिकाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ।
झापा शिवसताक्षी नगरपालिका सुमन राईकी छोरी सुरविरा राईको शुक्रबार डेंगुका कारण मृत्यु भएको खुलेको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन युवनाथ बरालले बताएका छन्।
झापामा डेंगुका कारण मृत्यु भएको यो वर्षको पहिलो घटना हो। बालिकाको श्वासप्रश्वासमा समस्या भएपछि परिवारले तत्काल उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड लगेको थियो।
शुक्रबार बिहान साढे ८ बजे सरविराको मृत्यु भएको जानकारी प्राप्त भएको बरालले जनाए । स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा पछिल्लो समय अर्थात् वैशाख यता ५५ जनामा डेंगु संक्रमण देखिएको छ।







