जुम्ल्याहा मृत शिशु जन्माईन् हुम्लाकी १७ वर्षिया किशोरीले..

जनता संवाददाता
२०८२ भाद्र ७ गते, शनिबार

हुम्ला । हुम्लामा एक गर्भवती बालिकाले मृत जुम्ल्याहा शिशु जन्माएकी छन् । चङ्खेली गाउँँपालिका– ६ को मेल्छाम गाउँकी १७ वर्षकी सीता बुढाले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।

दुई दिनअघि बेथा लागेपछि गर्भवती बुढालाई मेल्छाम स्वास्थ्य चौकीमा परिवारका सदस्यहरुले ल्याएको स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले बताए ।

सुत्केरी गराउनका लागि धेरै प्रयास गरिएको भए पनि उपकरणको अभावमा सुत्केरी गराउन नसकिएपछि बेथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्य चौकीमा लगिएको हो ।

उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिएको भए हेलिकोप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो । त्यति नै बेला स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले निज गर्भवतीलाई सुत्केरी गराउन सफल भए पनि मृत अवस्थामा जुम्ल्याहा शिशु जन्मिएको उनले बताए ।

बालिका स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत छन् । बुढाको घर सोही गाउँपालिका– ३ को मेखाला गाउँ परे पनि अध्ययन गरिरहेको कारण उनी माइतीमै बसेर अध्ययन गरिरहेकी थिईन् ।

प्रकाशित मिति : २०८२ भाद्र ७ गते, शनिबार


Scroll to Top

Janata Media