४ महिना पछि खुल्यो बाजुराको मार्तडी–कोल्टी सडक

जनता संवाददाता
२०८२ आश्विन १२ गते, आईतवार

बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि पुनः सञ्चालनमा आएको छ।

वर्षा शुरु भएलगत्तै पहिरोका कारण अवरुद्ध बनेको सडक शनिवारदेखि नियमित सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय, बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको संयुक्त लगानी तथा सहकार्यमा सडक मर्मत तथा पहिरो पन्छाउने काम सम्पन्न गरिएको हो। बुढीनन्दा नगरपालिकाको डोजर प्रयोग गरेर खसेका पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको हो।

सडक सुचारु भएपछि मार्तडीदेखि कोल्टीसम्म सिधा जीप सञ्चालन हुन थालेको छ, जसले दशैं–तिहारका लागि घर फर्किने स्थानीयलाई सहजता पुगेको छ। साथै, जिल्लाको पूर्वी–उत्तरी भेग कोल्टी क्षेत्रका चार स्थानीय पालिका मात्र नभई छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका बासिन्दाले समेत लाभ पाउने भएका छन्।

बडीमालिका नगर प्रमुख अमर खड्का र बुढीनन्दा नगर प्रमुख जनक बोहराले पहिरो हटाएर बाउली र अनाई खोलामा बाटो निर्माण गरेसँगै सडक सञ्चालनमा आएको जानकारी दिए।

सडकखण्ड चार महिनासम्म अवरुद्ध हुँदा दैनिक आवतजावत, सामग्री ढुवानी अवरुद्ध हुनुका साथै पाण्डुसैन क्षेत्रमा पाकेका स्याउ समेत बजार ल्याउन नपाई बारीमै थन्किएको थियो। सडक सुचारु भएपछि अब स्याउसहित अन्य कृषि उपज ढुवानीमा सहजता हुने भएको छ ।

प्रकाशित मिति : २०८२ आश्विन १२ गते, आईतवार


Scroll to Top

Janata Media