फापरखेत पहिरो नियन्त्रण सङ्घीय सरकारको प्राथमिकतामा छ : मन्त्री पुन

जनता संवाददाता
२०८३ कार्तिक ८ गते, शनिबार

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका ४ र मंगला गाउँपालिका २ को सिमानामा पर्ने फापरखेत पहिरोको स्थायी समाधानको विषय सङ्घीय सरकारको प्राथमिकतामा परेको बताएका छन् ।

शनिबार पहिरोस्थलको निरीक्षण गर्दै मन्त्री पुनले आगामी बर्खाअघि नै समस्या समाधान गर्ने गरी पहिरो नियन्त्रण तथा वैकल्पिक सडक र पुल निर्माणको कामलाई सम्पन्न गर्ने गरी आवश्यक तयारी भएको बताए ।

उहाँले भन्नुभयो, ‘‘दसैंको भोलिपल्ट पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पहिरोको अवलोकन गरेर जानुभएको छ । मैले पनि धेरै पटक यो पहिरोको अवलोकन गरिसकेको छु । बेनी–दरबाङ सडक नियमित रुपमा सञ्चालनका लागि मुख्य चुनौती बनेको यो पहिरो नियन्त्रण गरी सहज रुपमा यातायात सञ्चालन गर्नुपर्दछ ।

पहिरोका कारण पश्चिम भेगका स्थानीयहरुले धेरै सास्ती भोग्नुपरेको छ । आशा गरौं आगामी बर्खाअघि नै पहिरो नियन्त्रण गर्नेगरी काम चाँडो सुरु हुन्छ ।” पहिरो नियन्त्रणका साथै वैकल्पिक सडक तथा पुल निर्माणको कामलाई पनि सँगसँगै अघि बढाउने उनले बताए ।

बर्खामा मात्र खस्ने पहिरो अहिले हिउँदको समयमा पनि सुख्खा पहिरो खस्न थालेपछि यातायात अवरुद्ध हुनथालेको छ । निर्वाचित भएपछि तेस्रोपटक पहिरोस्थलको निरीक्षण गर्नुभएका मन्त्री पुनले हिउँद भित्रमा पहिरोको स्थायी समाधान गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । अहिले सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध हुनथालेको छ ।

सुक्खा पहिरो खसेका कारण एक हप्तादेखि अवरुद्ध भएको सडक शुक्रबार बिहान मात्रै पहिरो पन्छाएर सुचारु गरिएको भएपनि साँझपख फेरी पहिरो खसेर सडक अवरुद्ध भएको थियो । शनिबार बिहान मन्त्रीसहितको प्राविधिक टोली पहिरोस्थलमा पुगेर पहिरो पन्छाउने काम थालिएको थियो ।

फापरखेत पहिरो विगत २६ वर्ष देखिको समस्या हो । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि चार करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी गण्डकी प्रदेश सरकारले वैकल्पिक सडक निर्माण गरी पक्की पुल निर्माण गर्ने योजना अघि बढाएको छ । पहिरोका कारण पश्चिम म्याग्दीका मंगला,मालिका र धवलागिरि गाउँपालिकाका स्थानीयहरुले वर्षौदेखि सास्ती भोग्दै आएका छन् ।

 

प्रकाशित मिति : २०८३ कार्तिक ८ गते, शनिबार