काठमाडौँ । कप्तान रोहित पौडेलको अर्धशतक र त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा ५ विकेटको प्रदर्शन मद्दतले नेपालले आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्स खेलमा कतारलाई ५ रनले पराजित गरेको छ।
जितको नजिक पुगेर पनि कतार अन्तिम समयमा चुक्दा नेपालले सनसनीपूर्ण जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो।
नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।
कतारले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनर इमाल मालिनदु लियानागे र जुबैर अलीले पहिलो विकेटका लागि ७९ रनको बलियो साझेदारी गर्दै नेपाललाई चर्को दबाबमा राखेका थिए।
लियानागेले विस्फोटक ब्याटिङ गर्दै मात्र ३५ बलमा ५६ रन बनाए भने अलीले ५५ बलमा ५२ रनको धैर्यपूर्ण पारी खेले।
एक समय सहज जिततर्फ अग्रसर देखिएको कतारको इनिङ्स लियानागे आउट भएपछि धर्मरायो। त्यसपछि क्रिजमा आएका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले खेलको पासा पल्टाए। उनले आफ्नो ३.५ ओभरको स्पेलमा मात्र १८ रन खर्चिएर ५ महत्त्वपूर्ण विकेट लिए।
उनले मोहम्मद असिम, शाहजेब जमिल, मुजीब उर-रहमान र अमिर फारुकलाई आफ्नो शिकार बनाए।
त्यस्तै, नन्दन यादवले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो। दुई कतारी ब्याट्सम्यान रन आउट हुन पुगे।
यसअघि, ओमानको अल अमेरोत क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो।
नेपालको सुरुवात निकै खराब रह्यो र २५ रन बनाउँदा दुवै ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (११) लाई गुमाएको थियो।
४८ रनमा ३ विकेट गुमाएर संकटमा परेको नेपालको इनिङ्स कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए।
कप्तान रोहितले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ३५ बलमा अर्धशतक पूरा गरे। उनले दीपेन्द्रसँग चौथो विकेटका लागि ६२ रनको महत्त्वपूर्ण साझेदारी गरे।
रोहित ४१ बलमा ६ चौका र १ छक्कासहित ५८ रनमा आउट भए भने दीपेन्द्रले २६ रनको योगदान दिए।
अन्तिम ओभरमा गुल्सन झा (१६) र सोमपाल कामी ९१४० ले द्रुत गतिमा रन जोड्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए।
कतारका लागि मिर्जा मोहम्मद बेग र ड्यानियल आर्चर मारिया लुइसले समान ३/३ विकेट लिए।
यो रोमाञ्चक जितसँगै नेपालले सुपर सिक्समा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ र विश्वकप छनोटको सम्भावनालाई थप बलियो बनाएको छ।







