काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । आइतबार बसेको नेकपा ९माओवादी केन्द्र० संसदीय दलको बैठकमा विश्वासको मत र राष्ट्रिय सभाको अध्यक्षमा उक्त दलका तर्फबाट उम्मेदवारीबारे छलफल पनि भएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ भने मङ्गलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने कार्यतालिका छ ।
माओवादी केन्द्रबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारमा झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ । हाल राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल रहनुभएको छ । राष्ट्रिय सभा उपाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी ९एमाले० लाई दिने सहमति भइसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार भने आइतबार मात्र टुङ्गो लगाउने भएको छ । माओवादी केन्द्रको संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले पार्टी पदाधिकारी बैठक बसेर उम्मेदवारबारे निर्णय गर्ने भएको हो ।
पार्टी उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार धेरै भएकाले पदाधिकारी बैठकबाट छलफल गरी छिनोफानो हुने बताए । “दलको बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारबारे छलफल भयो । त्यसमा कुनै निर्णय भएन,” उनले भने,
“आइतबार पार्टी पदाधिकारी बैठक बसेर उम्मेदवार तय गर्ने छौँ ।” बैठकमा प्रधानमन्त्रीले परिवर्तित राजनीतिक परिस्थितिका बारेमा संसदीय दललाई जानकारी दिनुभएको माओवादी संसदीय दलका नेता हितराज पाण्डेले जानकारी दिए । “अहिलेको समसामयिक विषयमा प्रधानमन्त्रीले धारणा राखे। नयाँ सहमति र सहकार्यमा अगाडि जाने गरी मन्त्रीमण्डल पुनर्गठन गरेको प्रस्ट पारे” उनले भने, “अहिलेसम्म भइरहेका काम कार्यतालिकासहित तेस्रो अधिवेशनमा जाँदै थियौँ । दुई विधेयक पारित भए । नयाँ परिस्थितिमा नयाँ कार्यतालिकाबमोजिम जाने धारणा राखे ।”
प्रधानमन्त्रीले सरकारले सोचेको उद्देश्यबमोजिम कांग्रेस अघि बढ्न नसकेपछि गठबन्धन फेर्नु परेको उल्लेख गरेको नेता पाण्डेले बताए । एमालेसँगको गठबन्धन दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने समझदारी गरेको भन्दै बैठकमा सांसदहरूलाई ब्रिफिङ गरिएको उनले बताए । माओवादी संसदीय दलको बैठकमा सांसदहरूले कसरी मन्त्रीमण्डल पुनर्गठन गरिएको भन्दै प्रश्न गरेको उपमहासचिव शर्माले बताए। यसरी प्रश्न गर्नेमा सांसद माधव सापकोटा, राजन दाहाल, सूर्यमान दोङ, मायाप्रसाद शर्मा, अमनलाल मोदीलगायत रहेको उनले बताए ।







