२४ करोड बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर

जनता संवाददाता
२०८१ जेष्ठ ६ गते, आईतवार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रमाइलीसहित आठ जनाविरुद्ध २४ करोड छ लाख रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

कैलाली, साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० ज.बि.(बिघा) जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याएको आरोपमा आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुविरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपियाँ बिगो कायम गरी जङ्गलको नाममा रहेको जग्गा यथावत् कायम गर्ने गरी निजहरूको भोग हटाउने आदेश हुन माग दाबी लिई मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते, आईतवार


Scroll to Top

Janata Media