इन्डियन प्रिमियर लिगः राजस्थानलाई हराउँदै हैदराबाद फाइनलमा

जनता संवाददाता
२०८१ जेष्ठ १२ गते, शनिबार

काठमाडौँ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । चेन्नईमा भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।

योसँगै आईपीएलको १७औँ संस्करणको उपाधिका लागि हैदराबादले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । हैदराबाटले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो । राजस्थान रोयल्सका लागि ध्रुव जुरेलले सर्वाधिक ५६ रन बनाए ।

यस्तै, ओपनर यशस्वी जैसवालले ४२ तथा कप्तान सञ्जु सामसन र टम कोहलर-क्याडमोरले समान १०/१० रन जोडे । हैदराबादका लागि शाहबाज अहमदले ३, अभिषेक शर्माले २ तथा प्याट कमिन्स र थांगारसु नटराजनले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रनको योगफल तयार पारेको थियो । हैदराबादका लागि हेनरिक क्लासेनले सर्वाधिक ५० रनको योगदान दिए । यस्तै, राहुल त्रिपाठीले ३७, ट्राभिस हेडले ३४, शाहबाज अहमदले १८ र अभिषेक शर्माले १२ रन जोडे ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले समान ३/३ तथा सन्दिप शर्माले २ विकेट लिए । पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै कोलकाता फाइनल प्रवेश गरेको थियो । फाइनल खेल आइतबार चेन्नईमा हुनेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते, शनिबार


Scroll to Top

Janata Media