काठमाडौँ । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।हामीले दूतावासलाई हिजो भिसा नोट पठाएका थियौँ, दूतावासले आज अन्तरवार्ताका लागि बोलाउँछौँ भनेको हो,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि, लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो ।यसैगरी, अमेरिकी दूतावास स्रोतले पनि लामिछानेलाई पुनः अन्तर्वार्ताको मौका दिन लागेको रातोपाटीलाई बताएको छ । यता नेपाल क्रिकेट संघ ९क्यान० का सदस्य दुर्गाराज पाठकले भने समाचार तयार पार्दासम्म लामिछानेलाई यसबारे कुनै आधिकारिक इमेल प्राप्त नभएको जानकारी दिए ।
बिहीबार बिहान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटेर उनले आशावादी रहन आग्रह गरेका थिए । ‘सरकार यस विषयमा निकै चिन्तित छ । परराष्ट्रमन्त्रीज्यूले मेरै अगाडि भिसाको सहजीकरणका लागि पत्र लेख्नुभएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘अब भिसा स्वीकृत नभएपछि यसको कूटनीतिक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने छ । यसका लागि सरकारले आवश्यक पहल गरेको छ,’ मन्त्री श्रेष्ठको भनाई थियो ।







