पोखरामा अलपत्र ९ सय यात्रुको ‘रेस्क्यु’, १९ बसमा सुरक्षा घेरासहित काठमाडौं पुर्‍याइयो

जनता संवाददाता
२०८२ जेष्ठ १८ गते, आईतवार

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका करिब ९०० यात्रुलाई शनिबार साँझ सुरक्षाकर्मीको स्कर्टिङमा काठमाडौंका लागि पुर्‍याइइएको छ।

१९ वटा बसमार्फत उनीहरूलाई गन्तव्यमा पुर्‍याउन लागिएको हो।

सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखराको पृथ्वीचोक लगायतका स्थानमा सयौं यात्रु अलपत्र परेका थिए। काठमाडौं जान लागेका करिब ९०० यात्रुलाई साँझ ६ बजेदेखि स्कर्टिङ सुरु गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गर्नेछ।

कोत्रेबाट सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँ र स्थानीय प्रहरीको टोलीले स्कर्टिङ गरी मुग्लिनसम्म पुर्‍याउने योजना रहेको छ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म स्कर्टिङ गरेर यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याइने सशस्त्र प्रहरी बलका सह(प्रवक्ता, डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यातायात व्यवसायीहरूले विभिन्न माग राख्दै अनिश्चितकालीन बन्द आह्वान गरेपछि यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते, आईतवार


Scroll to Top

Janata Media