कारागारबाट रविको सन्देश: म थाकेको छैन, तपाईंहरुलाई गल्ने छुट छैन

जनता संवाददाता
२०८२ श्रावण १७ गते, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नथाकेको र नगलेको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई पनि कमजोर नहुन सन्देश पठाएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति डोलप्रसाद अर्यालले भैरहवा कारागारमा रहेका सभापति लामिछानेको सन्देश सुनाएका हुन्।

सभापति लामिछानेको सन्देश उद्धृत गर्दै अर्यालले भने, ‘म थाकेको छैन, म गलेको छैन, म गल्दिनँ। त्यसकारणले तपाईंहरुलाई गल्ने छुट छैन।’

अर्यालले थपे ‘उहाँले जनताको ठूलो अपेक्षा र आशालाई निराशामा परिणत हुन दिन नहुने भन्दै पार्टीलाई एकढिक्का बनाएर लैजान, संगठन विस्तार गर्न र विदेशमा रहेका शुभचिन्तकहरूको अपेक्षालाई सम्बोधन गर्न सुझाव दिनुभएको छ।’

सञ्चारमाध्यममा आएजस्तो सबै सांसदले सभापतिलाई भेट्न नपाएको भन्ने कुरामा सत्यता नभएको अर्यालले स्पष्ट पारे। ‘हामीले कुनै शक्तिको दुरुपयोग नगरी सर्वसाधारण नागरिकले झैँ प्रक्रिया पूरा गरेरै भेटेका हौं। विशेष कारणले तीन जनाबाहेक जानुभएका सबै सांसदले भेट्नुभयो,’ उनले भने।

पार्टीले सुरु गरेको हस्ताक्षर अभियानबारे बोल्दै अर्यालले अन्यायमा परेका एक नागरिकको पक्षमा ऐक्यबद्धता जनाउनका लागि भएको बताए। घरदैलोमा पुगेर अभियानको औचित्यबारे बुझाउँदा नागरिकबाट अत्यन्तै उत्साहजनक प्रतिक्रिया पाएको उनको भनाइ थियो।

उपसभापति अर्यालले आगामी संसद बैठकअघि काठमाडौंमा संसदीय दलको बैठक बस्ने र संसदमा प्रस्तुत हुने रणनीतिका बारेमा छलफल गरिने पनि जानकारी दिए।

प्रकाशित मिति : २०८२ श्रावण १७ गते, शनिबार


Scroll to Top

Janata Media