चीनमा बाढीका कारण १० जनाको मृत्यु, ३३ जना बेपत्ता

जनता संवाददाता
२०८२ श्रावण २३ गते, शुक्रबार

बेइजिङ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् ।

“गान्सु क्षेत्रमा अगष्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ। अचानक बाढी आएको छ । अगष्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा बर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भइरहेका छन्,” सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका लागि ‘सक्दो प्रयास’ गर्न आदेश दिएको सीसीटीभीले जनाएको छ ।

‘चरम मौसमको कारण बारम्बार दोहोरिने’ घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति सि चिनफिङले सबै क्षेत्रहरूमा दृढतापूर्वक सावधानी अपनाउन र जोखिम पहिचान गर्ने प्रयासलाई बलियो बनाउन आदेश दिएका छन्।

वेइबोमा चिनियाँ अग्नि नियन्त्रक अधिकारीहरूले साझा गरेको फुटेजमा उद्धारकर्ताहरूले एउटा गाउँमा धमिलो पानीको बहावमा मानिसहरूलाई डोर्‍याइरहेको देखाइएको छ।

गान्सुको सरकारले पोस्ट गरेको फोटोहरूमा सडकहरू बाढीले थुपारेको हिलो माटो रठूला ठूला ढुङ्गाहरूले ढाकिएको देखिन्छ। चीनमा विशेष गरी वर्षा याममा हुने प्राकृतिक प्रकोपहरूका कारण ठूलो धनजनको क्षति हुने गरेको छ ।

उत्तरी बेइजिङमा गत महिना भएको भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको थियो । चीन हरितगृह ग्याँसको विश्वको सबैभन्दा ठूलो उत्सर्जक हो जसले जलवायु परिवर्तनलाई बढावा दिन्छ र चरम मौसमलाई अधिक बारम्बार र तीव्र बनाउन योगदान पुर्‍याउँछ। चीन विश्वव्यापी नवीकरणीय ऊर्जाका लागि पनि ‘पावरहाउस’ मानिन्छ । चीनले आफ्नो विशाल अर्थव्यवस्थालाई सन् २०६० सम्ममा कार्बन–तटस्थ बनाउने लक्ष्य राखेको छ। रासस/एएफपी

प्रकाशित मिति : २०८२ श्रावण २३ गते, शुक्रबार


Scroll to Top

Janata Media