दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा

जनता संवाददाता
२०८२ भाद्र २ गते, सोमबार

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

सोमबार पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले आफूलाई राजनीतिक चेत बोकेको व्यवसायी भएको भन्दै परिवार र आफूभन्दा नेपाल र नेपाली प्राथमिकतामा रहेको बताए।

राजनीतिले बिगारेको अवस्था सुधार्न आफू र अभियानका साथीहरूले दल खोल्ने अठोट गरेको उनको भनाइ छ। उनले चाँडै दलको नाम घोषणा गर्ने पनि बताए। सो अवसरमा आफूलाई किन्न खोजिएको पनि सुनाए।

गत १५ चैत्रमा राजावादीको तीनकुने आन्दोलनमा संलग्न भएको आरोप लागेका उनले आफूलाई भौतिक रूपमा नै सिध्याउन खोजेको आरोप लगाए। गत मंसिरमा पक्राउ परेका प्रसाईं दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका थिए।

सोहीकारण आफू भागेको तर्क पनि उनले गरेका छन्। उनले आफ्नो दिन आएपछि कोही बदमासहरू भाग्न नपाउने चेतावनी समेत उनले दिए। आफू आए सर्वसाधारणको दिन आउने उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते, सोमबार


Scroll to Top

Janata Media