पासाङ ल्हामुले आरोहण गरेको ३० वर्षपछि श्रीमानले चुमे सगरमाथाको चुचुरो !

जनता संवाददाता
२०८० जेष्ठ ४ गते, बिहीबार

सोलुखुम्बु । वरिष्ठ पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन् । ल्हाक्पा सोनम शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्व. पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन् । पासाङ ल्हामु शेर्पा चढेको ३० वर्षपछि सोनम सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

आज (बुधबार) बिहान ७ बजेर ३४ मिनेटमा ल्हाक्पा सोनाम शेर्पा सगरमाथाको चुचुरोमा पुगेको उनको परिवारले जानकारी दिएको छ । उनकी छोरी दावा फुटी शेर्पाले भनिन्, ‘सगरमाथाको चुचुरोमा पुग्ने बुबाको सपना पहिलेदेखिकै हो । तर पूरा भएको थिएन । उहाँले सेभेन समिटको तयारी गर्नुभएको थियो । विशेष गरेर भूकम्पपछि उहाँले हिमाल चढ्ने तयारी गर्नु भएको हो ।’

‘ममीभन्दा पहिले नै बुबा थामसेर्कु, धौलागिरीलगायतका हिमाल चढिसक्नु भएको थियो’, शेर्पाले सुनाइन्, ‘ममीको दुखद् निधन भएपछि उहाँको यात्रा रोकिएको थियो । भूकम्पपछि फेरि उहाँले हिमाल चढ्ने तयारी गर्नु भएको हो ।’ सोनम अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । सोनम शेर्पासँगै आरोहणको टोलीमा जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनी पनि रहेका छन् ।

मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरुले हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए । सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेका छन् । ६३ वर्षीय शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् ।

५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले हजारौं आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराएका छन् । थमसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्षसमेत रहेका उनी होटल तथा जलविद्युत जस्ता व्यवसायमा संलग्न छन् ।

उनले यसअघि अन्टार्कटिकाको माउन्ट भिन्सन, ओशिनियाको माउन्ट पुनकक–माउन्ट कार्सटेन्ज, युरोपको माउन्ट एल्ब्रस, अफ्रिकाको माउन्ट किलिमन्जारो, उत्तर अमेरिकाको डेनाली र दक्षिण अमेरिकाको एकोनवागुआ हिमालको आरोहण गरिसकेका छन् । उनले युरोपको सर्वोच्च शिखर माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम हिमाल, धौलागिरी हिमाल र थमसेर्कु हिमालको आरोहण पनि गरेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते, बिहीबार


Scroll to Top

Janata Media