हुम्लाका उपेन्द्र शाही विश्व प्रतिष्ठित चिभनिङ छात्रवृत्तिका लागि छनोट

जनता संवाददाता
२०८० भाद्र २३ गते, शनिबार

काठमाडौँ । हुम्लाका उपेन्द्र शाही विश्व प्रतिष्ठित चिभनिङ छात्रवृत्तिका लागि छनोट भएका छन् । विश्वभरिका ६० हजार भन्दा बढी अब्बल युवाहरू मध्येबाट हुम्लाका शाही चिभनिङमा छात्रवृत्तिका लागिछनोट भएका हुन् ।

उक्त छात्रवृत्तिका लागि १०% अन्तर्वार्ताका लागि छनोट भएका थिए भने र अन्तिममा २% लाई मात्र छात्रवृत्ति प्रदान गरिइएको थियो ।

उनले खुसि व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो जीवनकै एक अत्यन्तै महत्त्वपूर्ण र अविस्मरणीय दिन रहको लेखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “मेराे जीवनकै एक अत्यन्तै महत्त्वपूर्ण र अविस्मरणीय दिन हाे आज । आज औपचारिक रूपमा विश्वप्रसिद्ध चिभनिङ छात्रवृत्ति ग्रहण गरेकाे दिन ! लगभग एक वर्षकाे मिहिन तयारी, उत्सुकता, धबराहट र छनाेटका थुप्रै चरणहरू पार गरेसंगै आज याे अवसर प्राप्त भएकाे छ । विश्वभरिका साठी हजारभन्दा बढी उत्कृष्ट प्रतिस्पर्धीहरू मध्येबाट Chevening जस्ताे विश्वप्रसिद्ध छात्रवृत्तिका लागि आफू छनाेट हुदा साच्चिकै खुसीको सीमा रहदाे रहेनछ । त्यसमाथि MSc. Public Policy अध्ययनका लागि विश्वमै उत्कृष्ट विश्वविद्यालयहरूमा पर्ने बेलायतकाे University of Bristol मा पढ्न पाउनुलाई आफ्नाे साैभाग्य ठानेकाे छु । बुझ्ने भएदेखि आफ्ना व्यक्तिगत मनाेकांक्षा भन्दा माथि समाज र राष्ट्रकाे आकांक्षालाई राख्दै आएकाे छु । त्यसै यात्राकाे एक सानाे र अर्थपूर्ण अंशकाे रूपमा याे अवसरलाई लिएकाे छु । विकट हुम्लाकाे एउटा गाउँमा जन्मिएर, सशस्त्र द्वन्द्वको रापताप छल्न सुगम पठाईदा असंख्य दु:ख-सुख भाेगियाे, आराेह-अवराेह छिचोलियाे र यस‌ैक्रममा थुप्रै अवसर पनि प्राप्त भए जसका लागि समाज र राष्ट्रप्रति सधैं कृतज्ञ र अनुग्रहित रहनेछु ।”

उनले विगत लामो समयदेखि कर्णाली लगायत देशभरिका विभिन्न मुद्दाहरूको विषयमा अभियान चलाउदै आएका छन् । उनले यसअघि त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर गरेका छन् जसमा पनि उत्कृष्ट अंक ल्याएर सम्मानित भएका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते, शनिबार


Scroll to Top

Janata Media