वाणिज्य बैंकको कर्जा प्रवाह निक्षेपसँगै बढ्न लाग्यो

जनता संवाददाता
२०७९ भाद्र २९ गते, बुधबार

काठमाडौं । निक्षेपमा सुधार हुन लागेसँगै बैंकहरुले कर्जा लगानी पनि बढाउन लागेका छन् । भदौको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप साढे ७ अर्बले वृद्धि हुँदा कर्जा लगानी पनि करिब ७ अर्बले बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।

१७ भदौमा ४४ खर्ब ३७ अर्ब ४६ करोड रहेको वाणिज्य बैंकहरुको निक्षेप २४ भदौमा आउँदा ७ अर्ब ५१ करोड रुपैयाँले वृद्धि भई ४४ खर्ब ४४ अर्ब ९७ करोड पुगेको संघले जनाएको छ ।

सोही अवधिमा बैंकहरुको कर्जा लगानी ४१ खर्ब ८१ अर्ब २२ करोडबाट ६ अर्ब ८६ करोडले बढेर ४१ खर्ब ८८ अर्ब ८ करोड पुगेको बैंकर्स संघको तथ्यांक छ ।

०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्ब ४४ करोड पुगेको निक्षेप साउन लागेसँगै लगातार घटेर २७ साउनमा ४४ खर्ब २० अर्ब ५६ करोडसम्म झरेको थियो । त्यसपछि भने निक्षेपमा सुधार देखिन लागेपनि उल्लेख रुपमा भने बढ्न सकेको छैन । जसले गर्दा माग भएपनि बैंकहरुले कर्जा लगानी गर्न सकेका छैनन् ।

कर्जा लगानी पनि ३२ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड पुगेकोमा १३ साउनमा ४१ खर्ब ६३ अर्ब ३४ करोडसम्म झरेको थियो । २४ भदौको बैंकहरुको औसत (कर्जा–निक्षेप अनुपात)सीडी रेसियो ८८.३६ प्रतिशत रहेको बैंकर्स संघले जनाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते, बुधबार


Scroll to Top

Janata Media