काठमाडौँ । विराटनगरबाट १८ किलोमिटर दक्षिण पश्चिममा पर्ने धनपालथान गाउँपालिका–७ मुसहर टोलका रामधारी ऋषिदेव र उनका छिमेकी लखन ऋषिदेव मुसहरसहितका स्थानीय धेरै जसो समय अरूको खेतमा काम गर्छन् । २६ भदौ २०७९ दिउँसो रामधारी ऋषिदेव खेतमा पटुवा पकाउन ९पानीमा डुबाउन० बोजा ९मुठा० पार्दै थिए ।
विपन्न समुदायका लागि भनेर सरकारले जनता आवास कार्यक्रम अन्तर्गत बनाइदिएको दुईकोठे घरमा धेरैजसो मुसहर परिवार बस्छन् । रामधारीका दुई छोरा, तीन छोरीसहित सात जनाको परिवार छ भने लखनको ५ जनाको परिवार । आफ्नो खेतबारी नभएका उनीहरूलाई दुई छाक टार्न अरूको खेतबारीमा पसिना नबगाई हुन्न ।
झण्डै एक वर्ष अगाडि १९ मंसिर २०७८ को दिन यो मुसहर बस्तीमा केही नयाँ मान्छे आएका थिए । यी दुई मुसहर परिवारमा तिनले सानोतिनो भुइँचालो नै ल्याइदिए । जिल्ला अदालत मोरङबाट आएका हौं भन्ने सरकारी कर्मचारीले लखन र रामधारीका घरमा एउटा एउटा चिठी दिएर गएका थिए । चिठीमा सजिलै बुझ्ने भाषा पनि थिएन ।
चिठी पढेर, अरूलाई सोधेपछि बल्ल थाहा भयो उनीहरू माथि ‘कर नतिरेर राजस्व छली गरेको’ आरोप लागेको रहेछ । पत्रमा पन्ध्र दिनभित्र उच्च अदालत पाटन, ललितपुरमा हाजिर हुन लेखिएको थियो । रामधारीले एकछिन त विश्वास गरेनन् । तर, पनि चिठी बुझे । त्यसपछि के गर्ने, के नगर्ने सोच्नै सकेनन् ।
परिवार पाल्न दिनहुँ अर्काको खेतमा पसिना बगाइरहेका उनलाई अदालतले लेखेको चिठीमा ध्यान दिन फुर्सद पनि थिएन । तर बेलाबखत झल्यास्स त्यही सम्झना आउँथ्यो । त्यो पत्रमा ‘५ करोड ५३ लाख रुपैयाँ राजस्व चुहावट गरेको’ भनिएको थियो ।
यसको अर्थ के हुन्थ्यो भने रामधारी ऋषिदेव भन्ने व्यक्तिको नेपालमा भव्य कम्पनी छ । त्यसको राम्रो कारोबार छ र उसले तिर्नुपर्ने कर मात्रै ५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । हरेक साँझ खान धौ–धौ भए पनि राजस्व अनुसन्धान विभागले उनलाई चलाएको मुद्दाको व्यहोरा यही हो ।
त्यस दिन रामधारीका छिमेकी लखन ऋषिदेव मुसहर चाहिं काम खोज्न गाउँदेखि पाँच किलोमिटर टाढा पुगेका रहेछन् । त्यसैले पत्र बुझ्ने काम श्रीमती बुधनीले गरिन् । अदालतको टोलीले बुधनीलाई पत्र थमाएर गयो । पत्रमा लखन ऋषिदेव मुसहरलाई पनि १५ दिनभित्र उच्च अदालत पाटन, ललितपुरमा हाजिर हुन भनेर लेखिएको थियो । लखनलाई रामधारी भन्दा तीन गुणा बढी बिगो माग गरिएको छ । पत्र अनुसार, १५ करोड ६७ लाख रुपैयाँ राजस्व छलेको विषयमा बयान दिन अदालतमा उपस्थित हुन भनिएको थियो ।