झापाको दमकमा सुविधासम्पन्न आधुनिक सपिङ कम्प्लेक्स बन्ने

जनता संवाददाता
२०७९ आश्विन १ गते, शनिबार

काठमाडौँ । झापाको दमक –७, बजारमा रहेको अतिक्रमित टहरा हटाएपछि खाली रहेको जमिनमा करिब ७० करोड रुपियाँको लगानीमा सुविधासम्पन्न आधुनिक ‘दमक सपिङ कम्प्लेक्स’ बन्ने भएको छ । वर्षौदेखिको निरन्तर प्रयासमा एक वर्षअघि दमक नगरपालिकाले बल प्रयोग गरेर नगरपालिकाको स्वामित्वमा रहेको जग्गाको अतिक्रमण हटाएको थियो ।

स्थानीय सरकारले सार्वजनिक ९सरकारी० जग्गाको खोजी गरी त्यसलाई बहुउपयोग गर्ने अभियानअनुसार यस ठाउँको अतिक्रमण हटाएर बहुआयामिक व्यापारिक केन्द्र निर्माण गर्ने उद्देश्य राखेको थियो । अहिले आएर केही समयभित्र नै त्यो उद्देश्य पूरा हुनेभएको छ, इन्जिनियर तीर्थ पौड्यालले भन्नुभयो । २०७४ मा पहिलो पटक यस क्षेत्रमा डोजर लगाएर घर भत्काइएको थियो ।

नगर विकास कोषको ७० प्रतिशत ऋण सहयोग र ३० प्रतिशत दमक नगरपालिकाको लगानीमा करिब ७० करोडका लागतमा मनोरञ्जनका लागि फिल्महलसहितको अण्डरग्राउण्ड पार्किङ सुविधा राखेर लिफ्टलगायतको प्रयोगगरी आधुनिक भवन बन्न लागेको जनाइएको छ । यो भवन पूर्णरुपमा व्यावसायिक भवन बन्ने र यो नगरपालिकाको दिगो आम्दानीको स्रोत बन्ने बताइन्छ ।

यससम्बन्धी नगर विकास कोषसँग पहिलो चरणमा २०७८ चैत १५ गते सम्झौता भएको पाइएको छ । यसलाई सहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजना रहेको बताइन्छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र तत्कालीन अवस्थामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीबीच ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।

यो दमकको मात्र नभएर मुलुककै नमुना र सुविधासम्पन्न सपिङ कम्प्लेक्स बन्ने दमक नगरपालिकाको भनाइ छ । पुरानो सुनचाँदी लाइन भनेर चिनिएको यहाँ ११ कठ्ठा जमिन छ । यसमध्ये करिब ८ कठ्ठा १३ धुर क्षेत्रफलमा भवन बन्नेछ । यहाँ अतिक्रमण हटाउदा यहाँ बसोबास गरिरहेका कहीँकतै जग्गा नभएकालाई व्यापार व्यवसाय गर्न प्राथमिकता दिनेसमेत बताइएको छ ।

दमक नगरपालिकाका इन्जिनियर पौड्यालका अनुसार दमक सपिङ कम्लेक्स बनाउन विस्तृत परियोजना विवरण तयार भएर अहिले ठेक्का प्रक्रियामा गइसकेको छ । पाँच तले बन्न लागेको भवनसम्बन्धी सबै नयाँ मापदण्ड पालना र आधुनिक प्रविधिहको प्रयोगमा जोड रहेको समेत उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ आश्विन १ गते, शनिबार


Scroll to Top

Janata Media