नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको राष्ट्रपतिको रिटमा सुनुवाइ आजै हुने

जनता संवाददाता
२०७९ आश्विन ७ गते, शुक्रबार

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्दादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको आज (शुक्रबार) नै सुनुवाइ हुने भएको छ ।

राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेललदे जानकारी दिए ।

राष्ट्रपतिको यो कदम संविधान विपरीत भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न आदेश माग गर्दै सर्वोच्चमा कानुन व्यवसायी, कानुनका विद्यार्थी र सर्वसाधारणले समेत रिट हालेका छन् ।

अधिवक्ता सुनील रञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले संयुक्त रुपमा र मोरङको रंगेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले तोकेको १५ दिनसम्म पनि प्रमाणीकरण गरेकी छैनन् ।

 

प्रकाशित मिति : २०७९ आश्विन ७ गते, शुक्रबार


Scroll to Top

Janata Media