उत्पादनलाई बजारसँग जोडेर ५ वर्षभित्र मेरो वडालाई विकासको छुट्टै खाका दिन्छु । – कमल छत्याल

जनता संवाददाता
२०७९ आश्विन ६ गते, बिहीबार

काठमाडौँ । कमल बहादुर छत्याल एक यस्ता जनप्रतिनिधि हुन् । शिक्षाका क्षेत्रमा लगायत विभिन्न संघ संस्थामा गरेको कामको अनुभव उनसँग प्रशस्त छ । उनले अधिकतम् समय सामाजिक अभियान्ताको रुपमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संघ संस्था र निजि क्षेत्रमा समय ब्यतित् गरिसकेका छन् । उनी गत बैशाखको स्थानीय निर्वाचन पश्चात जनताबाट चुनिएर जनताको सेवा गर्ने ठुलो अवसर पाएका छन् ।

स्थानीय सरकार निर्वाचित भएको झण्डै चार महिना पुगिसकेको छ । यसै सन्दर्भमा हुम्लाको अदानचुली गाउँपालिका वडा नं ५ का वडाध्यक्ष कमल बहादुर छत्यालसँग जनता मिडियाका प्रबन्ध निर्देशक चक्र दानीले गरेको कुरकानीको सम्पादित अंश:

निर्वाचित भएको चार महिनालाई कसरी समिक्षा गर्नुहुन्छ ?
हामी स्थानीय निर्वाचन २०७९ मार्फत निर्वाचित भईसकेपछि जेठको ९ गते सपथ ग्रहण गरेका थियौँ । यो अन्तरालमा प्रष्ट रुपमा भन्नुपर्दा पार्टीका भेला, गोष्ठी, कार्यक्रम तथा प्रशिक्षणमा पनि समावेश भईयो । विगतको स्थानीय सरकारले गरेका कामहरुको अन्तिम सम्पादन र हाम्रो कार्यकालको प्रारम्भमा थियौँ । जुन चाँही आर्थिक वर्षको असार मसान्तसम्म कामहरुलाई निरन्तरता दिनुपर्ने थियो । ति कार्यक्रमहरु निरन्तर रुपमा हामीले सम्पन्न गर्ने काममा जोड दियौँ र विशेषगरी पूर्वाधारका कार्यक्रमहरु त भईरहेका थिए र तिनीहरुलाई निरन्तरता दिई रह्यौँ । सामाजिक सुरक्षा भत्ता एक वर्षदेखि लाभग्राहीले नपाएको अवस्थामा बैँक खाता मार्फत पाउने स्थिति सिर्जना गर्यौँ । यो काम पञ्जीकरण शाखा र बैँकको विशेष सहयोगमा लाभग्राहीको बैँक खाता खोलि बैँकिङ प्रणाली मार्फत वितरण गर्न सफल भयौँ । स्थानीय स्तरमा प्रयाप्त कर्मचारी नभएका कारण हामी आफैँ खटिएर काम गर्नुपर्ने पनि भयो । विशेषगरी वडालाई एक नमुना बनाउन हामी जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध मजबुत बनाउनका लागि क्षमता अभिवृद्धि हुनुपर्ने महशुस गरेँ । जसअनुरुप जनप्रतिनिधिले सँधै निर्देशन मात्रै दिने प्रवृत्तिको केहि हदसम्म अन्त्य गरेँ । सकेसम्म कर्मचारी वर्गहरुमा त्यस्तो तुच्छ व्यवहारको महशुस गर्न दिईन । समग्रमा चार महिना एकदमै सुखद र अनुभव योग्य रह्यो ।

तपाईँको विगत हेर्दा अधिकतम् समय सामाजिक संघ संस्थाहरु एन.जि.ओ मा बिताउनुभएको छ । त्यतिबेला सिकेका अनुभवलाई अहिले वडासँग कसरी जोड्नुभएको छ ?
मैँले लामो समय सामाजिक अभियानकै रुपमा विभिन्न एन.जि.ओ हरुमा पनि काम गरेँ र निजि क्षेत्रमा पनि काम गरेँ । नितान्त जुन क्षेत्रमा काम गरेपनि त्यही जनताहरु अपांग, असहाय, दुखि, पिछडिएको वर्गकै लागि गर्ने हो । सायद राजनीतिमा एउटा म सक्रिय रुपमा काम गरेर लागौँ वा एउटा निजि क्षेत्रमा अर्थात सामाजिक संघ संथामा जुनसुकैमा लागेपनि जनताकै निम्ति गर्ने हो । तर यतिबेला सायद म राजनीतिमा सक्रिय भएर काम गर्दै गर्दा मैँले देखेको एउटा काम गर्ने शिलशिलामा मैँले पाएको एन जि ओ र सरकारको गर्ने काममा र सोचाईमा पनि केहि फरक पाँए । हामी अभियान्ता भईसकेपछि एउटा गरिब जनता, महिला, दलित, बालबालिकाका क्षेत्रमा बिकास गर्नुपर्ने हुन्छ । सरकारको कुरा गर्दा हामीसँग तिन तहको सरकार छ , त्यसमा योजना तर्जूमाको कुरा गर्दा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्ने काम बिल्कुल तालमेल मिलेको पाईँदैन । त्यसमा स्थानीय सरकारले गर्ने योजना तर्जूमाको पनि तयारीको प्रक्रिया फितलो देखियो । यसलाई प्रक्रियागत रुपमा लगेर काम गर्न सकिएन भने, एउटा जनप्रतिनिधिले गरेर हुने वाला देखिँदैन । वडामा समस्याहरु धेरै हुने र बजेट कम हुने हुँदा विकासमा सोचेजस्तो प्रभावकारी देखिँदैन । बजेटका लागि पालिकामा त्यति प्रयाप्त देखिँदैन । प्रदेश सरकारमा पहल गर्ने हाम्रो पहुँच पुग्दैन । अब हामीले प्रक्रियागत रुपमा योजनाका खाकाहरु तयार गरेर मात्र काम गर्नुपर्छ । वडामा जुनसुकै योजना सञ्चालन गर्दा, उपभोक्ता समिति गठन गर्दा वडाको प्रतिनिधिको रोहवरमा अर्थात वडाको प्रतिनिधित्व नभएसम्म जुनसुकैले पहल गरेर योजना ल्याएपनि छलफल गरी आवश्यकताअनुसार मात्र कार्यन्वयन गर्ने नितीगत निर्णय गरिसकेका छौँ ।

तपाईँको यो पाँच वर्षको कार्यकाल भरि अन्य वडाको तुलनामा ५ नं वडालाई कत्तिको फरक देख्न सक्छौँ ?
सम्भवत् त पहिला हामीले विकासको मोडेललाई परिवर्तन गर्ने छौँ । हामी सबैको बुझाईमा एउटा बाटो खन्ने, एउटा भवन निर्माण गर्ने मात्र विकास हो भन्ने मात्र छ । अर्थात बुझिरहेका छन् । त्यस्तो होइन् कि हामीले विकास भनेको नितान्त त्यहाँको गरिब मान्छेहरुको एउटा आयआर्जनलाई जोडिएन भने शिक्षा, स्वास्थ्य, जिविको निर्वाहमा विकास हुँदैन भन्ने मेरो बुझाई छ । यो मेरो बुझाईलाई सबैको साझा बोलि बनाउन आम्दानीको स्रोत पहिचान गरी विकाससँग जोड्ने प्रयास गरिरहेका छौँ र सम्भवत पाँच वर्षभित्र यो सिर्जना पनि गर्छौँ । आम्दानीको स्रोतको रुपमा एउटा प्रयास स्वरुप ओखर पकेट क्षेत्र बनाई हरेक घरधुरीलाई प्रत्येक वर्ष १० ओटा बोटाका दरले पाँच वर्षसम्म ५० ओटा बोटा उपलब्ध गराउने योजना छ । मेरो वडामा जम्मा ३५० घरधुरी छ । झण्डै १७ हजार जति बिरुवा वडाले उपलब्ध गराउँछ । बगैँचा एक, स्वामित्व अनेक नाराका साथ प्रत्येकले आफ्नो बारीमा लगाउनुहुन्छ र बगैँचा बाँडफाँड गरिन्छ । आम्दानी सबै उहाँहरुकै हुन्छ । त्यसरी १७ हजार बिरुवामा १०र२० प्रतिशत खेर गएपनि लगभग १५ हजार बिरुवा रहन्छन् । यसले गर्दा वातावरण पनि हरियाली र एकदमै हराभरा रहन्छ । आम्दानीको कुरा गर्दा एक घरले वर्षमा कम्तिमा ३ लाख आम्दानी गर्छ । यसरी मेरो कार्यकाल पछि पनि दिर्घकालिन प्रत्येक घरले आफ्नो आम्दानीको स्रोत आफैँ बनाउन सक्छन् । यसरी ओखरले मात्रै प्रत्येक घरधुरीको आम्दानी जोड्दा झण्डै करोडौँ रुपैँया वडामा भित्रिन्छ । यसरी उनीहरुका नानीबाबुहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार लगायतका समस्याहरु आफैँ समाधान गर्न सक्ने स्थिति बनाउन सक्छन् । वडाको दिगो विकास समृद्धिका लागि आम जनसमुदायहरुको व्यवहारमा परिवर्तन गर्दै स्थानीय स्रोतहरुको अधिकतम् उपयोग गरेर यहाँको विकासलाई अगाडी बढाउने प्रयास मेरो रहन्छ । ५ वर्षपछि सम्भवत् यो अहिलेको परस्थिति भन्दा केहि फरक आम्दानीका स्रोतहरु, समृद्धि तथा समाजवादका आधारहरु खडा भएको देख्न पाइने छ ।

सिङ्गो अदानचुलीलाई एउटा विकासको छुट्टै खाका दिन तपाईँको अर्थात ५ नं वडाको भूमिका के रहन्छ ?
अदानचुली भौगोलिक दृष्टिकोणले तिन ओटा भागमा विभाजन भएको छ । नदिको तटिय अर्थात बेसि क्षेत्रमा धान , केराहरु पनि हुन्छ भने मध्य क्षेत्रमा कोदो, चिनो , कागुनो , उवा फलाउन सकिन्छ । भने त्यो भन्दा माथि अन्य फापर, गहुँ, स्याउ फल्ने, जडिबुटी, पशुपालन का योग्य क्षेत्रहरु छन् । यसरी जुन क्षेत्रमा जे फलाउन सकिन्छ त्यसरी नै अन्नबाली, जडिबुटी र पशुपालनलाई आधुनिकीकरण तथा व्यावसायिक गरेर अगाडि लैजान सक्छौँ । यसरी व्यवस्थित ढंगले विकासलाई अगाडी लिने हो भने अदानचुलीको मुहार छुट्टै हुन्छ । भर्खर अस्ति मात्र मैँले यसका विषयमा कर्णाली प्रदेश सरकारका कृषि मन्त्री चन्द्र बहादुर शाही ज्यू सँग पनि भेटेर कुरा गरेको थिँए । उहाँसँग मैँले यी प्रस्तावहरु मन्त्री समक्ष राखेको छु । बेसि क्षेत्रलाई केरा खेती, बिचको १,२,३ लाई कपास खेतीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना ठुलो देखिएको छ । त्यस्तै ५ र ६ लाई ओखर स्याउको कुरालाई अगाडी बढाउने कि भन्ने विषयमा कुराकानी भएको थियो । जसमा ५ नं वडालाई ओखर पकेट क्षेत्रको रुपमा अगाडी लैजाने, १, २, ३ लाई कपास पकेट क्षेत्र बनाउने कुरा लगभग टुङ्गो लागिसकेको छ । अदानचुलीमा रहेको स्थानीय स्रोतलाई प्रयोग गरेर उत्पादनमा जोडी त्यो उत्पादनलाई बजारसँग जोड्ने प्रक्रिया अगाडी बढाउन सकियो भने साँच्चिकै अदानचुलीलाई समृद्ध बनाउने कुरामा कुनै शंका देखिँदैन । त्यसकारण उत्पादनलाई बजारसँग जोड्ने पहिलो प्राथमिकता हुनुपर्छ । अनि पर्यटकीय क्षेत्रलाई पनि व्यवस्थित प्रचार प्रसार गर्नुपर्छ । परम्परागत संस्कृति र भेषभुषालाई पनि संरक्षण गर्नको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । अहिलेसम्मको स्थिति हेर्ने हो भने हामी बिना योजना काम गरिरहेका छौँ । अबदेखि विशेष गुरुयोजनाका साथ अगाडी बढ्नुपर्छ । मैँले कार्यपालिकामा पनि एउटा गुरुयोजनाका साथ अगाडी बढौँ भनेर प्रस्ताव पनि राखेको छु । सम्पूर्ण क्षेत्रका विज्ञहरुको सल्लाह सुझाव लिएर योजना बनाउन सकिन्छ । दिगो विकासको लागि विपद् व्यवस्थापनलाई पनि ध्यान दिन जरुरी देखिन्छ । हाल पालिकामा विपद्का बेला तत्काल उद्धार तथा व्यवस्थापन गर्ने संयन्त्र छैन । त्यसकारण विशेषगरी विपद् व्यवस्थापनलाई पनि जोड्नु पर्ने देखिएको छ ।

अन्त्यमा, आउँदै गरेको दशैँ तिहारलाई लक्षित गरी वडाले के कस्ता योजनाहरु बनाएको छ अर्थात कसरी शुभकामना दिनुहुन्छ ?
आउँदै गरेको २०७९ बडा दशैँ, तिहार, छठ को अवसरमा सम्पूर्ण कर्मचारी, बुद्धिजिवी, शिक्षक, गुरुवर्ग र सम्पूर्ण पत्रकार मित्रहरु लगायत सम्पूर्ण मेरा वडाबासीहरुमा मेरो व्यक्तिगत तर्फबाट र वडा नं ५ को तर्फबाट शुख, शान्ति, समृद्धि र यो दशैँले यहाँहरुको समय उल्लासमय रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रकाशित मिति : २०७९ आश्विन ६ गते, बिहीबार


Scroll to Top

Janata Media