
काठमाडौँ । अवरोधबिच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बढेको विवादमा संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) आमनेसामने भएका छन् । विवादबिच कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधि सभामा सांसदहरू एकअर्काप्रति अभद्र व्यवहारमै उत्रिएका छन् ।
सङ्घीय संसद्को अवधिमा अवरोध र आरोप प्रत्यारोप भइरहे पनि सत्तापक्ष प्रतिपक्ष रोस्ट्रमअगाडि पुगेको यो पहिलो घटना हो । १० वर्षपछि प्रतिनिधि सभामा झन्डै पुरानो दृश्य दोहोरिएको हो । बिहीबार बैठक प्रारम्भसँगै कांग्रेस सांसद रोस्ट्रमअघि पुगेर नाराबाजी सुरु गरेका थिए । सहमतिका लागि दिनभरको प्रयास असफल भएपछि अपराह्न ४ बजे बैठक बोलाइएको थियो । उक्त बैठक पनि करिब दुई घण्टा ढिला सुरु भएको थियो ।
अवरोधबिच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट खाद्य स्वच्छतासम्बन्धी विधेयक प्रमाणीकरणको जानकारी गराएका थिए । साथै मन्त्रीपरिषद् हेरफेरको जानकारी पनि सभालाई दिएका थिए।
दुई कार्यसूचीपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै नोकझोक बढेको थियो । मन्त्री लामिछाने आफ्नो स्थानबाट उठेसँगै कांग्रेस सांसद थप आक्रोशित भएर नाराबाजी गरेका थिए ।
तत्कालै नेकपा ९एमाले० का सांसद पनि उठेका थिए । नाराबाजीकैबिच बोल्ने समय पाउनुभएका गृहमन्त्री लामिछानेलाई रोस्ट्रममा जान सहजीकरणका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, उपसभामुख इन्दिरा रानामगर, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलालगायतले इसारा गरेपछि कांग्रेस सांसद थप चिढिए । ओलीकैअगाडि रहेका कांग्रेस उपसभापति धनराज गुरुङले गरेको व्यवहारका कारण आक्रोश बढेको थियो ।
सांसद धनराज गुरुङ अध्यक्ष ओलीतिर फर्किएर निरन्तर नारा लगाएपछि कांग्रेसकै देवप्रसाद तिमिल्सिनाले रोक्ने प्रयास गरे तर गुरुङ रोकिएनन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गुरुङलाई रोक्न गरेको प्रयास पनि सफल भएन । त्यसपछि एमालेका ठाकुर गैरे, सूर्य थापा, प्रमुख सचेतक बर्तौला, हरिप्रसाद उप्रेती, दामोदर पौडेल वैरागीलगायत गुरुङ र ओलीको बिचमा पुगे । त्यसपछि दुवै पक्षबाट धकेलाधकेल भयो । दुवै पक्ष आक्रामक भएपछि कांग्रेसका प्रकाशशरण महत, रामहरि खतिवडालगायतले आफ्ना सांसदलाई रोकेका थिए । स्थिति असहज भएपछि सभामुख घिमिरेले कार्यसूचीका अन्य विषय हटाइएको जानकारी गराउँदै बैठक स्थगित गरेका थिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने वा नबनाउने विवादमा संसद्मा अवरोध जारी रहँदा कांग्र्र्रेसले अघिल्लो अधिवेशनबाटै बैठक अवरुद्ध पारिरहेको छ । अवरोधका कारण पहिलो बैठकमा पेस हुनुपर्ने अध्यादेश पेस हुन सकेको छैन । साथै नीति तथा कार्यक्रम पेस भएपछि सदनका तर्फबाट राष्ट्रपतिलाई दिने धन्यवादको प्रस्तावको प्रक्रिया अगाडि बढेको छैन ।
के थिए विगतका घटना ?
विसं २०७१ फागुन ५ गते मध्यरात तत्कालीन एनेकपा (माओवादी) हालको माओवादी केन्द्रले तत्कालीन संविधान सभामा गरेको तोडफोडपछि यस्तो टकराब देखिएको थिएन । त्यसअघि २०५० साल साउनमा राष्ट्रिय सभामा तत्कालीन स्थानीय विकासमन्त्री (वर्तमान राष्ट्रपति) रामचन्द्र पौडेलमाथि एमालेका गोल्चे सार्कीले हातपात गरेका थिए । एमालेकै सिफारिसमा सार्की सात दिन निलम्बनमै परेका थिए ।
राजनीतिक एजेन्डामा संसद् बन्धक बन्दा अवरोधबिच कार्यसूचीमा प्रवेश गराइएको यो पहिलो पटक भने होइन । यसअघि पटक पटक अवरोधबिच कार्यसूची अगाडि बढाइएका छन् । एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको सूत्रधार राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ भदौ २३ मा अवरोधकैबिच पेस भएको थियो । तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेसको प्रक्रिया अगाडि बढाएका थिए ।
यस्तै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नेपाली कांग्रेसको अवरोधबिच पारित भएको थियो । २०७५ माघ ११ गते कांग्रेसले रोस्ट्रम घेराउ गरेकै अवस्थामा तत्कालीन सभामुख कृष्णबहादुर महराले विधेयक पारितको प्रक्रिया अगाडि बढाएका थिए । राष्ट्रिय सभामा पनि अवरोधबिच नै पारितको प्रक्रिया अगाडि बढाइएको थियो ।
अवरोधपछिको प्रतिक्रिया
संसदबाट निस्किँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्मा प्रतिपक्षी दल नेपाली कांग्रेसले अभद्र व्यवहार गरेको टिप्पणी गरिन् । उनले प्रमुख प्रतिपक्षी दलबाटै गैरसंसदीय व्यवहार भएकोमा दुःख व्यक्त गरिन् ।
प्रतिनिधि सभाको अवरोधपछि कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्दै घटनामा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताएका छन्। एमालेले ‘पोजिसन’ व्यवहारबाटै थाहा पाएको बताउँदै थापाले प्रधानमन्त्रीको धारणा मागेका हुन् । उनले एमालेले अप्रिय परिस्थिति सिर्जना गर्न चाहेको आरोप पनि लगागाएका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक बर्तौलाले अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको बताए । सत्तापक्षको लहरमा समेत आएर विरोध गर्दै कांग्रेसले असंसदीय व्यवहार गरेको बर्तौलाले बताए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद्को घटनाका लागि कांग्रेस जिम्मेवार भएको र माफी माग्नुपर्ने बताए । शीर्ष नेतामाथि भएको दुर्व्यवहार अशोभनीय भएको र क्षमा माग्नुपर्ने सापकोटाको भनाइ छ । उनले कांग्रेसका शीर्ष नेताबाटै दुव्र्यवहार हुनु दुःखद भएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झाले सहकारीको रकम हिनामिनामा अब संसदीय समिति नबन्ने घोषणा गरे । आफ्ना सभापतिको फाइल खोल्नु्अघि कांग्रेस सभापति र परिवारका सदस्यको फाइल खोल्न तयार हुनुपर्ने झाको भनाइ थियो ।