
काठमाडौँ । दसैँअघिको अन्तिम कारोबार दिन बिहीबार शेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । पछिल्लो समय लगातार रूपमा घट्दै गएको नेप्से परिसूचकले दुई दिनदेखि सकारात्मक गति समातेको छ । बिहीबार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ ।
बिहीबार कारोबारमा आएका २२३ कम्पनीका १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरमा किनबेच भयो । बुधबार ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको थियो ।
बिहीबार नेप्सेका १३ वटा उपसमूहमध्ये जीवन बीमाबाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ । बीमा उपसमूहको सूचक ०.०६ प्रतिशतले गिरावट आएको छ भने सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको १.६५ प्रतिशतले बढेको छ ।
बिहीबार अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको ५.७६ प्रतिशत, समिट लघुवित्तको ५.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ५.१३ प्रतिशतले बढेको छ ।
यता सामलिङ पावरको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ । हिमालयन पावर पार्टनरको ३.६९ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले शेयरमूल्य घटेको छ ।
बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज अब आउँदो नौ दिनका लागि बन्द भएको छ । शेयरबजार अब आगामी २३ गतेबाट मात्रै खुल्नेछ ।