रुकुम पश्चिममा माओवादीले कांग्रेसलाई कुनै क्षेत्र नदिने

जनता संवाददाता
२०७९ आश्विन १४ गते, शुक्रबार

काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि जितेका क्षेत्रहरु यथावत राख्ने गरी मात्र भागबण्डा मिलाउन शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । त्यसो नगरिए परिणाम अनपेक्षित हुने समेत चेतावनी दिएका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटको लागि गठबन्धन दलहरुले यसअघि जितेका क्षेत्रहरु यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाट सम्बन्धी निर्णय गर्न नेकपा माओवादी केन्द्र रुकुम पश्चिम जोडदार माग गर्दछ’ उनले विज्ञप्तिमा भनेका छन् ।

रुकुम पश्चिममा प्रतिनिधिसभाको एउटा र पदेशसभाको दुईवटा निर्वाचन क्षेत्र छ । एक कुराकानीमा रोकाले जिल्लाको एक प्रदेशसभा क्षेत्र कांग्रेसलाई दिन लागेको सुनेकाले त्यसलाई रोक्न ध्यानाकर्षण गराएको बताए । ‘प्रदेशसभामा पाउनुपर्छ भन्ने कांग्रेसको दावी र त्यसै अनुसार दिनुपर्छ भन्ने हिसाबमा कुरा हुन थालेको छ,’ उनले भने, ‘केन्द्रबाट त्यो निर्णय नहोस् भन्ने हाम्रो भनाइ हो ।’

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले पाउनेमा विवाद नभए पनि दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले दावी गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश वलीले आफूहरुको दाबी २ क्षेत्रमा भए पनि गठबन्धनको मापदण्ड अनुसार एउटा क्षेत्र भने पाउनै पर्ने बताउँछन् । विशेष गरी प्रदेशसभा ‘ख’मा आफूहरुको दाबी रहेको उनले बताए ।

‘गठबन्धनको मापदण्ड अनुसार रुकुममा पनि नेपाली कांग्रेसले पाउनुपर्‍यो,’ वलीले भने, ‘गठबन्धन रुकुमलाई छाडेर अरु ७६ जिल्लामा मात्रै गरेको हो भने पार्टीेले भन्नुपर्‍यो । होइन भने गठबन्धनले जुन मापदण्ड बनाएको छ, त्यसले रुकुमलाई पनि छुन्छ होला ।’

प्रकाशित मिति : २०७९ आश्विन १४ गते, शुक्रबार


Scroll to Top

Janata Media