‘भगवान भरोसा’मा यात्रा गर्न बाध्य कर्णालीवासी

जनता संवाददाता
२०७९ आश्विन १६ गते, आईतवार

काठमाडौँ । देशैभर दसैंको रौनक छाएको बेला सल्यानको कपुरकोट गाउँपालिका ६ जलवाङ गाउँ शोकमा डुबेको छ । गत बुधबार सल्यानको कपुरकोटमा रा १ ज ५६३ नम्बरका जिप दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाए । बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जिपमा सवार ९ जनामध्ये ८ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भयो ।

ज्यान गुमाउनेहरूमा ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एकै परिवारका हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि सन्तानभित्रका पर्दछन् ।

त्यस्तै दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ । गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनसन्धानबाट खुलेको छ । उनीहरू बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्कदै थिए । मृत्यु हुने सबै एकै गाउँका हुन् ।

सोही दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आइरहेको ट्रक दुर्घटनामा पर्‍यो । जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहिमा वागमती प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक दुर्घटनामा मकवानपुर घर भएका ट्रक चालक अविनाश लामाको मृत्यु भयो भने उनका सहयोगी हरि न्यौपाने घाइते भए ।

यस्तै शनिबार सल्यानकै कुमाख गाउँपालिका ७ डुमकोटमा रा १ ज ७९८ नम्बरको जिप दुर्घटनामा पर्‍यो । दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुनको मृत्यु भयो । १७ जना घाइते भए । ओभरलोडका कारण उकालोमा चढ्न नसकेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शनिबारै जुम्लाको तिला गाउँपालिका १ कालजेनीमा खंलगाबाट नराकोटतर्फ जाँदै गरेको भे १ च १८७३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भयो । दुर्घटनामा इलाका प्रशाशन कार्यालय नाराकोटका प्रमुख मधुशंकर उपाध्यायसहित ४ जना घाइते भए । उनीहरू दसैँ मान्न घर फर्किदै थिए ।

उल्लेखित घटना चाडपर्वका बेला बर्सेनि कर्णालीका सडकमा ज्यान गुमाउनेहरूका दुखान्त उदाहरण हुन् ।

बर्सेनि चाडपर्वका बेला सडक सुरक्षा रणनीति बनाउने ट्राफिक प्रहरी नै मुकदर्शक हुँदा यातायात व्यवसायीको कमाउ धन्दाले कर्णालीका नागरिकहरू भगवान भरोसामा यात्रा गर्न बाध्य छन् । गतिलो सडक पूर्वाधार नहुँदा कर्णालीका नागरिकले अनाहकमा ज्यान गुमान बाध्य छन् ।

प्रकाशित मिति : २०७९ आश्विन १६ गते, आईतवार


Scroll to Top

Janata Media