बाढी पसेपछि नेपालगन्ज-गुलरिया सडकमा आउजाउ बन्द

जनता संवाददाता
२०७९ आश्विन २० गते, बिहीबार

काठमाडौँ । बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया—नेपालगन्ज सडक खण्ड डुबानमा परेको छ । गुलरिया—११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा जोखिम बढेपछि आउजाउ रोकिएको छ । बाढीले सडक माथि करिब २ मिटरभन्दा बढी पानी बगेको छ ।

पूर्वबाट पश्चिम आउजाउ गर्ने सबै सवारी साधन र मानिसलाई आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले बताए । पहाडी क्षेत्रमा पानी परेकोले बबई उच्च जोखिममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरिएको उनले जनाए ।

बाढीले सयौं बिघा खेतमा लगाइएको धानबाली क्षति पुर्‍याएको स्थानीय शौखत अली गद्दीले बताए । ‘गत वर्ष कात्तिक २ गते बाढीले धानबाली क्षति पुर्‍याए पनि सयौं किसानले क्षतिपूर्ति पाएनन्,’ उनले भने, ‘यस वर्ष पनि उस्तै हुने छ ।’

गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्ने क्रम जारी छ । लगातार पहाडी भूभागमा पानी परेकोले बबइमा जलस्तर बढ्दै गएपछि सदरमुकाम गुलरियाका आसपास क्षेत्र डुबानमा पर्ने जोखिम बढेको छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् । त्रासले यहाँका केही घर परिवार हुलाकी सडकमा त्रिपाल लगाएर बसेकाछन् ।

प्रकाशित मिति : २०७९ आश्विन २० गते, बिहीबार


Scroll to Top

Janata Media