हुम्लामा दल रावल भर्सेस कार्चेन लामा,कस्ले मार्ला बाजी ?

जनता संवाददाता
२०७९ आश्विन २३ गते, आईतवार

चक्र दानी २३ असोज २०७९, आइतबार

काठमाडौँ । हुम्लामा गठबन्धनको तर्फबाट माओवादीका नेता छिरिङ डम्डुल लामा (कार्चेन) लाई टिकट दिइएको छ । भने लामाका विरुद्ध एमालेको तर्फबाट दल रावललाई टिकट दिइएको हो ।

लामा गैर सांसद भएर पनि कर्णाली प्रदेश सरकारमा माओवादीका तर्फबाट ६ महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए भने रावल तत्कालिन नेकपाको तर्फबाट कर्णाली प्रदेश सरकारमा ३ वर्ष दुई महिना सामाजिक विकास मन्त्री भएका थिए । यसअघि यि दुवै जना प्रदेश सरकारमा मन्त्री समेत भईसकेका अहिले हुम्लाबाट प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गर्दैछन् ।

माओवादी केन्द्रको आधार ईलाका मानिने हुम्लामा पनि गठबन्धन भएकाले लामालाई बलियो उम्मेद्वारका रुपमा लिन सकिन्थ्यो तर अहिले माओदीका दुई ठुला नेता छिमी दोर्जे लामा आशाकार र २०७४ सालमा माओवादीबाट टिकट नपाएपछि स्वन्तन्त्र रुपमा जितेका छक्क बहादुर लामा एमाले प्रवेश गरेसँगै हुम्लामा कसले जित्ला भनेर निकै चासोका साथ हेरिएको छ ।

दुवै जनाले जित आफ्नो पोल्टामा कसरी पार्ने भनेर गम्भिर रणनिति बनाईरहेका छन् । स्थानीय तहको चुनाव यता पार्टी प्रवेश अर्थात राजनितिक उतारचढाव भएका कारण पनि यस क्षेत्रलाई एकदमै महत्वका साथ हेरिएको छ ।

एमालेका उम्मेद्वार दल रावलले जनता मिडियासँग भने, “कर्णाली प्रदेश सभामा पाँच वर्ष बिताइयो । ३ वर्ष दुई महिना मन्त्री भँए । यस अन्तरालमा हुम्ली जनताको सेवा नजिकबाट गर्ने अवसर पाँए । विशेष स्वास्थ्य क्षेत्रसँग सम्बन्धित एकदमै राम्रो काम गरेँ । पूर्वाधारका क्षेत्रमा काम गरियो । त्यसैगरी अब अलिे संघमा आएर अलिकति संसदमा हुम्ली जनताका आवाजलाई काठमाडौँ पुर्याउनको निम्ति मेरो उम्मेद्वारी हो ।”

उनले थपे, “हुम्ली जनताका आवाज सिंह दरबारले सुनेको छैन । सिंहदरबारलाई ती आवाज सुनाउनको लागि पनि मेरो उममेद्वारी हो । वशिेष्गरी हुम्ली जनताको माया सद्भावलाई संस्थागत गर्नको निम्ति र हुम्लाई विकासको नयाँ रोड म्याप दिन पनि मेरो उम्मेद्वारी हो । हुम्ली जनता मेरो साथमा भएकाले पनि मेरो जित हुनेमा म ढुक्क छु ।”

त्यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार छिरिङ डम्डुल लामा (कार्चेन) ले जनता मिडियासँग भने, “हुम्ला माओवादीको संस्थापक नेता हुँ । २०४६ सालदेखि जनमोर्चा हुँदै निरन्तर रुपमा हुम्ली जनताको हक हितका निम्ति लागि रहेको छु । मेरो जनता प्रतिको इमान्दारीता र आफ्नो पार्टी प्रतिको बफादारी भएकाले पनि मेरो जित सम्भव छ । पार्टीमा सँधै अरु साथीलाई मात्र अवसर दिँदै आँए । तिन तिन जना माननियहरुलाई सहयोग गरेँ । म आफु पछि परेर भएपनि जनताकै निम्ति लडिरहेँ ।”

उनले थपे, “दुई चार जना पार्टी छोडेर जाँदैमा फरक पर्दैन । सिंगो गठबन्धन र माओवादी पार्टीले एकदमै सहयोग गरेको छ । म जित्छु भन्नेमा कुनै दुई मत देखिँदैन । ठुलो हुम्ली जनताको साथ, सहयोग र विश्वास म माथि छ, म जित्छु ।”

 

 

प्रकाशित मिति : २०७९ आश्विन २३ गते, आईतवार


Scroll to Top

Janata Media