काठमाडौं । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे ।
उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए । बिहीबार पत्रकार सम्मेलन गरी उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए ।
एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरुका लागि मत माग्न नसक्ने बताए ।
रावलले देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए । ‘जसको विरुद्धमा एमाले कार्यकर्ताले रगत बगाउनुपर्यो तिनका लागि मत माग्न सक्दिन’ उनले भने ।