काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको घटनामा वीर अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ ।
बिहीबार अस्पतालमा भएको छलफलपछि अस्पतालले ती बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने सहमति भएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।
त्यस्तै पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यावन्यन गर्ने सहमति भएको पनि उनले बताए ।
‘सरकारले दिएकोको रकमबाहेक औषधि लगायतका खर्च दुई लाख रुपैयाँ भन्दा बढी भएको छ । त्यो खर्च अस्पतालले दिने सहमति भएको छ’ रम्तेलले अनलाइखबरसँग भने, ‘अब हामी उजुरी प्रक्रियामा जान्छौं ।’
अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो । ‘प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो देखिएको थियो । तर, निकालेर हेर्दा मिर्गौला प्रत्यारोपणका लागि योग्य थिएन’, डा. बस्नेतले अनलाइनखबरसँग भने, ‘केही न केही रोग छ होला । यो कुरा छानबिनमा पुष्टि होला ।’
अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।