तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

जनता संवाददाता
२०७९ कार्तिक ६ गते, आईतवार

काठमाडौँ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

काग तिहारको अवसरमा आज काठमाडौंमा काग सम्मेलन आयोजना गरिएको छ । आज शान्तिबाटिकामा १९औं काग सम्मेलनको आयोजना गरिएको छ । शनिबार नै कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले बेलुकी यमदीपदान सुरु गरिएको थियो । त्रयोदशी तिथि आज आइतबार बेलुकी ५:०४ बजेसम्म छ ।

त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज बेलुकी ५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु भएको हो । धनवन्तरी जयन्ती पनि आजै परेको छ । धनत्रयोदशी (धनतेरस) भने शनिबार नै मनाइएको छ ।

तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ । गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ ।

कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते, आईतवार


Scroll to Top

Janata Media