काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित ऋषि सुनकलाई बधाई दिएका छन् ।
मंगलबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा सुनकलाई बधाई दिएका हुन् । देउवाले महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन सुनकसँग काम गर्न आफू तत्पर रहेको बताएका छन् ।
बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी थिइन् । ट्रसले राजीनामा दिएपछि संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता सुनक प्रधानमन्त्री बनेका हुन् । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबुआमा दुवै भारतीय मूलका हुन् ।