
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमवार अदालतमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
उक्त युवतीले बयानका क्रममा सन्दीपले आफूलाई गौशालास्थित एक होटमा लगी जबरजस्ती गरेको अदालतमा बयान दिएकी छन् ।
यस्तो छ बयानको पूर्णपाठः
सन् २०२२ को मार्चदेखि अप्रिलसम्म नेपालमा आयोजना भएको मलेसिया, नेपाल र पपुआ न्यु गिनीबीच भएको ट्राई नेशन सिरिज प्रतियोगिताका दौरान नेपाली राष्ट्रिय टोलीको खेलाडी देव खनालले ७२ रन स्कोर गरेपछि मैले देव खनाललाई खेलकुद समर्थकको हिसाबले चासोका साथ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ।
त्यसपछि निज देव खनालले फेसबुकमा फ्रेन्ड रिक्वस्ट एसेप्ट गरेपश्चात् निजले स्न्याप च्याट भन्ने सामाजिक सञ्जाल एपमा फ्रेन्ड रिक्वेस्ट पठाएको र सो पश्चात् मैले एसेप्ट गरेकी थिएँ ।
त्यसपश्चात् निज देव खनाल र निज म बीचमा स्न्याप च्याट एप्समार्फत छोटो भिडियो सन्देश (स्न्याप) र फोटो आदनप्रदान हुने गरेको थियो । यो सिलसिला करिब तीन महिनासम्म चलिरहेको थियो । सोही क्रममा नेपाली राष्ट्रिय टोली केन्यामा हुन लागेको दुई पक्षीय क्रिकेट शृंखलाको तयारी स्वरूप कालीमाटीस्थित हायात प्लेसमा क्लोज क्याम्प चलिरहेको अवस्थामा सन्दीप लामिछानेले मलाई देव खनाल र निज सन्दीप लामिछाने एकै कोठामा बसेका थिए ।
सोही क्रममा देव खनालले आफू र निज सन्दीप लामिछाने सँगै भएको फोटोमा निज सन्दीप लामिछाने रहेको तस्बिर निज सन्दीप लामिछानेसमेतको युजर नेम राखी मलाई पठाएका रहेछन् ।
देव खनालले पहिलो पटक सो तस्बिर पठाउँदा मैले निज सन्दीप लामिछानेलाई वास्ता गरेकी थिइनँ । त्यसको करिब दुई दिन पछि देव खनालले आफू र सन्दीप लामिछाने सँगै भएको फोटो पुनः पठाएका रहेछन् । त्यसपछि १६ अगस्ट आसपासमा मैले निज सन्दीप लामिछानेलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ ।
निज सन्दीप लामिछानेले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको करिब आधा घण्टाभित्र फ्रेन्ड रिक्वेस्ट स्वीकार गरिसकेका रहेछन् । तत्पश्चात् मैले अरू साथीहरूलाई जसरी नै उनलाई पनि छोटो भिडियो पठाइरहेकी थिएँ ।
त्यसपछि म र निज सन्दिप लामिछाने बीचमा सोही स्न्याप च्याट भन्ने एप्स मार्फत हाम्रो पारिवरिक पृष्ठभूमी (बुवा आमा सँगै नरहनु भएको, पढ्नका लागि म आफै संघर्ष गरिरहेको, म आफू होस्टलमा बस्ने गरेको आदी) सामान्य कुराकानी भएको । त्यसपछि निज सन्दिप लामिछाने र म बीचमा सामान्य कुराकानी हुँदै जाँदा निजले मलाई भेट्नका लागि प्रस्ताव गरेको र सो लगत्तै मैले आफूले भ्याउँदिन भनेपछि निज सन्दीपले निकै जोडबल गरी आफू अर्को दिन (२०७९ साल भदौ ६ गते) को बेलुका ८ बजे केन्याको लागी फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किइकन क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आइल्यान्डतर्फ जाने र सो को दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौँ भनी निकै जोडबल गरी रहेका थिए ।
सोही कुराकानीका क्रममा निजले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकामा मैले निजलाई हेरौँ के हुन्छ भनेकोमा निज प्रतिवादीले सो भन्दा आई विल क्याच यु लेटर भनेर सो बखतका लागि कुराकानी टुंग्याएका थिए । त्यसपछि बिहान करिब ११ बजेतिर म कलेज गएकी र कलेजमै रहेको अवस्थामा करिब ३ बजेर ५७ बजे निज प्रतिवादीले ९८१६८८८५१ बाट मलाई फोन गरेका रहेछन् ।
म क्लासमा पढिरहेकीले सो फोन उठाउन नपाएकी र मैले सोही नम्बरमा कल ब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाई ‘को बोलेको हो’ भनी सोधेकोले मैले नचिनेको मान्छेको नम्बर रहेछ भन्ने ठानी कुनै जवाफ नदिइकन फोन राखिदिएको थिए । पछि मलाई निज प्रतिवादीले सोही नम्बर ९८१६८८८५१ बाट ४ बजेर १८ मिनेटमा फोन गरी अहिले आफू बैठकका लागि सातदोबाटो गइरहेको र पछि फोन गर्ने बताएकोमा त्यसपछि म होस्टलमा गएँ, ६ बजेर २५ मिनेटमा निज प्रतिवादीले ९८२५८८८०२५ नम्बरबाट मलाई फोन गरेर आफू कालिमाटीबाट निस्कदै गरेको र मलाई संसद् भवन अगाडि आउँदै गर भनी बोलाएका थिए । त्यसपछि निज प्रतिवादीलाई मैले आफू संसद् भवनतर्फ नआउने, बरु तपाई नै ग्लोबल कलेज अफ म्यानेजमेन्टतर्फ आउनु भनेकोमा निज प्रतिवादीले आफूलाई ग्लोबल कलेजको लोकेशन थाहा नभएकोले मैले पुरानो बानेश्वर चोक जाने बाटोतर्फ पर्छ भनी ठेगाना बताई दिएकोमा त्यसपछि मैले निज प्रतिवादीलाई ६ बजेर ५३ मिनेटमा फोन गर्दा निजले आफू अन्तराष्ट्रिय सम्मेलन केन्द्रबाट पुरानो बानेश्वरतर्फ मोडिएको बताएका थिए ।
निज प्रतिवादीले ६ बजेर ५८ मिनेटमा मलाई फोन गरेर आफू लिटिल काठमाण्डौँ भन्ने रेष्टुरेन्ट अगाडि रहेको र पुनः ७ बजे बजे फोन गरेर बर्गर हाउसजस्तो रेष्टुरेन्ट छ त्यही आउ भनेकोले उक्त स्थानमा जाँदा निजले रोकि राखेको सेतो रङको अल्फाबेट थाहा नभएको ०२६ च ४४४४ नम्बरको निशान गाडी फेला परेको र उक्त गाडीभित्र निज सन्दिप लामिछाने रहेकोमा निजले मलाई आउ बस भनेपछि म उक्त गाडीको अगाडिको सिटमा बसे पश्चात निज प्रतिवादीले नाइस टु मिट यू भनेर साइडबाट अंगालोमा राखी त्यसपछि निज प्रतिवादीले केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्रीबाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगे । त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मञ्जुरीबिना भित्रीबाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भईसकेपछि करिब ८ बजेर २० मिनेटमा पुर्याएको र सोपश्चात निज प्रतिवादीले मलाई ड्रिंक खाने प्रस्ताव गरेको र मैले कहिल्यै ड्रिंक नखाएकीले ईन्कार गरेँ ।
निजले पुनःप्रस्ताव गर्दा पनि मैले पुनः ईन्कार गरेँ । त्यसपछि निजले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआईपी रुम बुक गर्ने सम्बन्धमा पटक पटक कुराकानी गरेका र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा अन्दाजी १० बजेर ४५ मिनेटमा निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ । सो पश्चात निज प्रतिवादीले मलाई नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाण्डौँ फर्कदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले निज प्रतिवादीले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा मैले दुईवटा कोठा बुक गर्न भनेकोमा निज प्रतिवादीले आफ्नो मोबाइलबाट कल डायल गरेर ‘अनिश भाइ, त्यही रुम बुक गरिदिनु’ भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरेको र मलाई होटलमा एउटा मात्र रुम छ भने । त्यसपछि मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा निजले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए ।
निज प्रतिवादीले होटल नजिक पुग्दा मलाई मास्क छ की छैन भनेर सोधेकोमा मैले आफूसँग मास्क छैन भनेपछि निज प्रतिवादीले मलाई जसरी पनि मास्क लगाउन भनी आफूले लगाएको मास्क खोलेर लगाउन दिई होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनी मलाई गाडीबाट ओरालेर आफू गाडी पार्क गर्न गई । सो पश्चात होटलको गेटमा रहेका अनिश भन्ने सहयोगीले मलाई गेटमा चाबी दिई लिफ्ट खोली माथि ४०७ नं. कोठामा जानु भनेकोले म सरासर कोठा नं. ४०७ मा गएर हातमुख धोईरहेको अवस्थामा निज प्रतिवादी कोठाभित्र आई एसी चलाउन खोज्दा नचलेकाले उक्त कोठाबाट अन्दाजी ११ बजेर ५५ मिनेटमा कोठा नं. ३०५ मा सरेकोमा उक्त दिन म निकै थाकेकीले कुर्चीमा नै अर्धनिन्द्रामा परेको र निज प्रतिवादीले मलाई बेडमा गएर आराम गर भनेपश्चात म बेडमा गई आराम गर्दै गर्दा प्रतिवादीले मलाई लुगा फुकालेरै सुत भनेकोमा म लुगा नफुकालिकन पल्टेको थिए एकैछिनमा म निदाएछु ।
त्यसको अन्दाजी २० देखि २५ मिनेट पछि २०७९।०५।०६ गते अन्दाजी १२ बजेर २५ मिनेटतिर म ब्यँुझिदा निज प्रतिवादी मसँग सुत्न आई जबरजस्ती मैले लगाएको पाइन्ट खोली आफ्नो पाइन्टसमेत खोली मैले नमान्दा नमान्दै मेरो ईच्छाविपरीत जबरजस्ती करणी गरेर मेरो शरीरमा बिर्य झारी आफू बाथरुमतर्फ गई पुन बेडमा आई सुतेकोमा त्यसको करिब एक घण्टापछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोश्रो पटक जबरजस्ती करणी गरी बिहानपख निज प्रतिवादीले मलाई आफ्नो ७ बजे बजे हायात प्लेसमा पीसीआर परीक्षण रहेकोले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दाँ मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन् ।