बाराको अराजकता लोकतन्त्रमा स्वीकार्य छैन: प्रधानमन्त्री कार्की

जनता संवाददाता
२०८२ मंसिर ४ गते, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधबार देखिएको तनाव र हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै लोकतन्त्रमा अराजकता स्वीकार्य नहुने चेतावनी दिएकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रताको नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र कानुन हातमा लिने छुट कसैलाई नभएको स्पष्ट पारेकी हुन्।

‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन,’ प्रधानमन्त्रीले भनेकी छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।’

प्रधानमन्त्री कार्कीले सिमरा घटना लगत्तै गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएको जानकारी दिएकी छन्।

उनले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र उच्च संयमता अपनाएर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी हुन्।

उनले भनिन्, ‘मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन निर्देशन दिएको छु।’

प्रधानमन्त्रीले सरकारले युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई गम्भीरतापूर्वक लिएको उल्लेख गरेकी छन्।

लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिने भन्दै उनले अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन सबै पक्षलाई अपिल गरिन्।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते, बिहीबार


Scroll to Top

Janata Media