राष्ट्रिय स्वतन्त्र पार्टीबाट को–को हुन सक्छन् समानुपातिक सांसद ?

जनता संवाददाता
२०७९ मंसिर ६ गते, मंगलवार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित मत ल्याइरहेको छ । लामिछानेको पार्टीले प्रत्यक्षतर्फ अनपेक्षित अग्रता लिइरहेको छ । र, समानुपातिकतर्फ पनि राम्रो मत ल्याइरहेको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार लामिछानेको पार्टीले २८ हजार ३ सय १५ मत ल्याएर तेस्रो दल बनिरहेको छ । यही रफ्तार कायम राख्न सके स्वतन्त्र पार्टी समानुपातिकतर्फ तेस्रो दल बन्ने सम्भावना देखिएको छ ।

स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालको दाबीमा चाहिँ ३० देखि ३२ लाखसम्म समानुपातिकमा मत आउन सक्छ । उनको भनाइमा एमाले र कांग्रेसकै हाराहारीमा मत आउनेछ । स्वतन्त्र पार्टीले १ सय १० जना समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

ढकालले दाबी गरेको मत समानुपातिकतर्फ आएमा झण्डै ४० जना सांसद हुने सम्भावना हुन्छ । त्यस्तो अवस्थामा रवि लामिछानेको पार्टीबाट को–को समानुपातिकतर्फबाट सांसद होलान् भन्नेमा चासो बढेको छ । समानुपातिक बन्दसूची अनुसार स्वतन्त्र पार्टीले खसआर्यबाट डोलप्रसाद अर्याल, गणेश कार्की, दीपक बोहोरालगायतको सूची बुझाएको छ ।

उनीहरू नै समानुपातिकबाट सांसद भन्ने सम्भावना हुन्छ । बन्दसूचीमा आदिवासी जनजाति कोटाबाट डा. ढाका श्रेष्ठ, मेघबहादुर आले, विष्णुकुमार श्रेष्ठसहितको टोली रहेको छ । मतको आधारमा उनीहरूमध्ये नै सांसद बन्ने सम्भावना हुन्छ । मधेसी कोटाबाट मनीष झा, तपेश्वोर यादव, सुरेशप्रसाद साहलगायतको नाम बन्दसूचीमा रहेको छ । समावेशी क्लस्टर मिलाउनुपर्ने संवैधानिक बाध्यताका कारण यो कोटाबाट पनि सांसद हुनेछन् । यद्यपि, संख्या भने समाननुपातिक मतमा निर्भर हुनेछ ।

त्यसैगरी, खस आर्य महिलाको कोटाबाट प्रा.डा.चन्दा कार्की, निशा डाँगी, चन्द ऐर चाँदनीलागायतको नाम रहेको छ । प्रत्यक्षतर्फ निर्वाचित हुने महिलाको संख्या कम हुने भएकाले संसद्‌मा ३३ प्रतिशत महिला पुर्‍याउनका लागि महिलाहरूको संख्या स्वाभाविक रूपमा बढ्नेछ । त्यसैगरी, आदिवासी जनजाति महिलातर्फबाट इन्दिरा राना, सुमना श्रेष्ठ र विन्दवासिनी कंसाकार र मधेसी महिला कोटाबाट लक्ष्मी तिवारी, निशा मेहता, कामिनी कुमारीलगायत रहेका छन् ।

दलितको पुरुष कोटाबाट सन्तोष परियार, शिव नेपाली, खिमबहादुर वादी र दलित महिलाबाट कल्पना रोक्का, रूपा शंकर र सविना विश्वकर्मालगायतका रहेका छन् । आदिवासी जनजाति पुरुषमा अशोककुमार चौधरी, प्रेमलाल चौधरी र हैरानु थारू आदिवासी जनजाति महिलाबाट सविना महतो, पुष्पा चौधरी, तृप्तिशिखा चौधरी सम्भावित सूचीमा रहेका छन् । त्यसैगरी, मुस्लिम पुरुष कोटाबाट आसिफ शाह, इस्नामुल्ला मियाँ, मुस्लिम महिलाबाट सामिना मियाँ, समिउन निशा र रजिजया खातुन सम्भावित सूचीमा रहेका छन् ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते, मंगलवार


Scroll to Top

Janata Media