युरोप र अमेरिकाको अफर त्यागेर साउदी आएको हुँ -किष्टियानो रोनाल्डा्े

जनता संवाददाता
२०७९ पुष २० गते, बुधबार

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन् । यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको उनले बताए ।

एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो । पोर्चुगलका यी कप्तानका अनुसार उनलाई युरोपसहित ब्राजिल, अष्ट्रेलिया र अमेरिकाबाट प्रस्ताव आएको थियो ।
म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ,’ मंगलबार क्लबको सार्वजनिक कार्यक्रममा उनले भनेका छन्, ‘मैले युरोपका शीर्ष क्लबहरुमा खेलेर सबैकुरा जितेको छु । अब नयाँ चुनौति स्वीकार गरी एसिया आएको हो ।’

अल नासरबाट रोनाल्डोले इतिहासमै सबैधन्दा धेरै पारिश्रमिक पाउनेछन् । सन् २०२५ सम्मका लागि गरिएको सम्झौताअनुसार उनले प्रति वर्ष २० करोड डलर पारिश्रमिक पाउनेछन् ।

रोनाल्डोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका छन्, ‘कसैलाई थाहा छैन तर आज म भन्दैछु । मलाई युरोपमै धेरै अवसर थियो । ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलकै पनि धेरै क्लबहरुले प्रस्ताव गरेका थिए ।’

पाँचपल्ट बेलोन डी’ओर अवार्ड जितेका रोनाल्डोलाई तालीको गडगडाहटका साथ उनकै परिचित ‘सिउउ।।’ सेलिब्रेसनद्वारा स्वागत गरिएको थियो । उनले क्लबकै एक अधिकारसँग सार्वजनिक बातचित गरे । पत्रकारहरुले प्रश्न गर्ने अवसर पाएनन् ।
मलाई थाहा छ यहाँको लिग प्रतिस्पर्धात्मक छ । मैले धेरै खेलहरु हेरेको छु । म आजदेखि खेल्नका लागि तयार छु । कहिले खेल्ने भनेर प्रशिक्षकको निर्णयमा भर पर्छ,’ रोनाल्डोले भने ।

अल नासरका प्रमुख प्रशिक्षक रुडी गार्सियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरबका लागि ठूलो सफलता भएको बताए ।

‘मैले आफ्नो जीवनमा देखेकामध्ये महान खेलाडी क्रिष्टियानो रोनाल्डोजस्तो खेलाडीलाई प्रशिक्षित गराउनु सहज काम हुनेछ । किनभने उनलाई केहि सिकाउनु पर्दैन बरु उनीसँग म सिक्नसक्छु,’ फ्रान्सेली प्रशिक्षकले भने, ‘मेरो लक्ष्य क्रिष्टियानोलाई खुसी राख्नु हुनेछ । म चाहन्छु कि उनले अल नासरका लागि धेरैभन्दा धेरै जितको सन्तुष्टि पाउन् ।’

प्रकाशित मिति : २०७९ पुष २० गते, बुधबार


Scroll to Top

Janata Media