यमलाल कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्तावसहित कर्णालीका एमाले नेता बालकोटमा

जनता संवाददाता
२०७९ पुष २१ गते, बिहीबार

काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्री यमलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै कर्णालीका एमाले नेताहरू बालकोट पुगेका छन् ।

बिहीबार कर्णालीका नेताहरू कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका हुन् । सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिनुपर्ने र कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग उनीहरूको छ ।

अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको नेतृत्व नछोड्न दबाब दिन कर्णाली प्रदेशसभाका एमाले सांसद र नेताहरू काठमाडौं आएको हुन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न पुस २७ गते सोमबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।

कर्णाली प्रदेशसभामा कुनै पनि दलले बहुमत नपाएका कारण संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरिएको छ । कर्णालीको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका एमाले र माओवादी केन्द्रले दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९ पुष २१ गते, बिहीबार


Scroll to Top

Janata Media