पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ जना घाईते

जनता संवाददाता
२०७९ पुष २२ गते, शुक्रबार

पाल्पा । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा मधुवन टारीफाँटनजिकै राहादी गैरामा दुर्घटना भएको वडाअध्यक्ष रेमबहादुर रानाले बताए ।

उनका अनुसार मृतक सबै रैनादेवी छहरा- ८ खुर्सानेका छन् ।

ग. १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जना महिलाको मृत्यु भएको हो । मृतकमा पाल्पा रैनादेवी ८ खुर्साने गाँउकी ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गिरिकुमारी गाहा, २१ वर्षीया सामकुमारी खत्री र १९ वर्षीया विना पाण्डे छन् ।

दुर्घटनामा घाइते भेटिएका १७ जनामध्ये १३ महिला र ४ जना पुरुष छन् । घाइतेले फोन गरेर प्रहरीलाई राति १० बजेतिर दुर्घटनाको जानकारी गराएका थिए । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धार हुन सकेन । बस सडकबाट ५०/६० मिटर तल भीरमा खसेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ पुष २२ गते, शुक्रबार


Scroll to Top

Janata Media