५ चैतमा स्ववियु निर्वाचन गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय

जनता संवाददाता
२०७९ पुष २३ गते, शनिबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी ५ चैतमा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए । उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ ।

२१ पुसमा बसेको त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । उनले विद्यार्थी कल्याण परिषद्ले सिफारिस गरेअनुसार नै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बताए ।

सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेसँगै आफू अब स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए ।

त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन नसकेको हो ।

विसं २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशैभरी त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौवटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

यस्तै, उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

प्रकाशित मिति : २०७९ पुष २३ गते, शनिबार


Scroll to Top

Janata Media