विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

जनता संवाददाता
२०८१ बैशाख २९ गते, शनिबार

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री महासेठले राजनीति पाँच वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए । उनले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गरे ।

उनले दलका नेताहरूले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थभन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए । उनले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे । उनले वर्तमान सरकारले भौतिक प्रगतिको रूपमा राम्रो उपलब्धि पाउने प्रतिबद्धता जनाए ।

‘‘राजनीति पाँच वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ । सङ्घ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय तहको निर्वाचनको बेलामा चार महिना । बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ । हामीले काम गर्दा हुन्छ । पार्टीका नेताहरूले पार्टीका कुरामात्रै गर्ने होइन ।,’’ उपप्रधानमन्त्री महासेठले भन्नुभयो, ‘‘हामीले पार्टीको स्वार्थभन्दा माथि उठेर जब हामी सोच्दैनौँ, देश अघि बढाउन सक्दैनौँ ।

हामीले विद्वान साथीहरूसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ । दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु । कामको गति बढाउँदैछौँ । विश्वास छ यस वर्ष यस सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्ध प्राप्त गर्नेछ ।’’

उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले नेपालमा विगतभन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गरे । उनले राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्नेकुरा सत्य नरहेको बताए ।

पार्टीका नेताहरूलाई गाली गरेर मात्रै आत्मसन्तुष्टि लिनुभन्दा साँच्चिकै विकास भएको छ की छैन रु भन्नेबारेमा सत्य जानकारी प्रस्तुत गर्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख २९ गते, शनिबार


Scroll to Top

Janata Media