वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी

जनता संवाददाता
२०७९ पुष २६ गते, मंगलवार

काठमाडौँ  । वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड ट्रेनिङ सेन्टर नामक संस्था हो । उक्त संस्था कहीँकतै दर्ता भएको देखिँदैन । बिनादर्ताको यो संस्थाले विदेशमा आकर्षक कमाइ हुने काममा तालिम दिएर पठाउने भन्दै वर्षौंदेखि ठगी गरेको खुलेको छ ।

उक्त संस्थाका सञ्चालक झन्डै एक हजार युवाको राहदानीसहित प्रतिव्यक्ति न्यूनतम एक लाख रुपियाँदेखि अधिकतम पाँच लाख रुपियाँसम्म लिएर १५ दिनदेखि बेपत्ता भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा पीडितले गरेका उजुरीका आधारमा वनस्थलीमा रहेको उक्त संस्थाको विभागको आकस्मिक टोलीले अनुगमन गर्दा ‘होल्ड’ गरेका ९८० वटा राहदानी फेला पारी नियन्त्रणमा लिएको छ ।

संस्थाका सञ्चालक काठमाडौँ गोकर्णेश्वर–६ बस्ने ४४ वर्षीय लालबहादुर लामा र कम्पनीमा सीईओ रोशन न्यौपानेले एक हजार युवासँग लाखौँ रुपियाँ ठगी गरेर १५ दिनदेखि फरार रहेको पीडितले विभागमा दिएको उजुरीमा उल्लेख छ ।

विभागका अनुसार उक्त संस्थाको अनुगमन गरी सञ्चालन भएको घरलाई सिल गरेको छ । विभागको टोलीले उक्त संस्थामाथि गरेको अनुगमनको क्रममा चारवटा झोला र स्कुटरको डिकीमा राखिएको अवस्थामा राहदानी फेला परेका थिए । उक्त कम्पनीमा युवाले प्रतिव्यक्ति एक लाखदेखि पाँच लाखसम्म अग्रिम बुझाएको पाइएको छ ।

विभागले थाल्यो अनुसन्धान
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले उक्त संस्थामाथि अनुसन्धान सुरु गरेको जानकारी दिए। विभागका अनुसन्धान अधिकृतको नेतृत्वमा समिति गठन गरेर आइतबारदेखि नै उक्त संस्थाको अनुसन्धान भइरहेको पनि उहाले बताए ।

उनले अनसार संस्थाका सञ्चालक लामा र सीईओ न्यौपाने फरार रहेकाले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । फरार लामा र न्यौपानेलाई नेपाल प्रहरी अनुसन्धान केन्द्र (सीआईबी)ले खोजी जारी राखेको जनाइएको छ । ठगीको प्रकृतिका आधारमा मुद्दा चलाइने पनि विभागका महानिर्देशक आचार्यले जानकारी दिए ।

गोरखा पत्र दैनिकमा खबर छापिएको छ

प्रकाशित मिति : २०७९ पुष २६ गते, मंगलवार


Scroll to Top

Janata Media