राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल निर्वाचित

जनता संवाददाता
२०७९ माघ २३ गते, सोमबार

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद् तमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।  अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको सुभकामना समेत दिए ।

आइतबार उपाध्यक्षमा अर्यालको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएकी हुन्। अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, समर्थकमा एमालेका देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा थिए।

पर्साको वीरगन्ज महानगरपालिका-२३ गण्डकचोक स्थायी ठेगाना भएकी ६६ वर्षीया अर्याल २०७८ फागुनदेखि राष्ट्रियसभामा सांसद छिन्। यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त थियो।

एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादी केन्द्रले उपाध्यक्ष पद पाएको थियो। त्यसमा उम्मेदवार बनेकी अर्याललाई कांग्रेसले प्रतिस्पर्धी नदिएर निर्विरोधका लागि सघाएको छ।

राष्ट्रिय सभाको अर्काे बैठक आजै केहीबेरपछि बस्ने छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते, सोमबार


Scroll to Top

Janata Media