टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

जनता संवाददाता
२०७९ माघ २९ गते, आईतवार

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार कटेको छ । २८ हजार १९२ जनाको मृत्यु भएको र हजारौँ घाइते भएका अधिकारीहरुले बताएका छन् ।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्पबाट १० वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । हालसम्म टर्कीमा २४ हजार ६१७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताए ।

सिरियामा तीन हजार ५७५ जनाको ज्यान गएको छ । सरकार नियन्त्रित क्षेत्रमा एक हजार ४०८ जना तथा विद्रोहीको पकड भएका भूभागमा दुई हजार १६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयंसेवी संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियामा उद्धारका काम समाप्त भएको जनाउँदै स्यंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यससम्बन्धी वास्तविक विवरण दिएको छैन ।

प्रकाशित मिति : २०७९ माघ २९ गते, आईतवार


Scroll to Top

Janata Media