प्रहरीको गाडी जलाएको आरोपमा २ जना पक्राउ

जनता संवाददाता
२०७९ फाल्गुन ४ गते, बिहीबार

काठमाडौं । सोमबार माछापोखरी– गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा प्रहरीको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्नेहरुमा नुवाकोटका रन्जित कुमार तामाङ र काठमाडौं धर्मस्थली बस्दै आएकी सङ्गीता परियार छन् ।

पक्राउ परेकी सङ्गीता माछापोखरीमा पानी बेच्दै आएकी थिइन् ।पानी बेच्दै गर्दा प्रदर्शन सुरु भएपछि प्रर्शनकारीहरुसँगै मिलेर उनले प्रहरीको गाडी जलाउन पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

त्यस्तै पक्राउ परेका अर्का रञ्जित कुमार तामाङ सवारी चालक हुन् ।

गाडी जलाउनेमा उनीहरुसहित अन्य ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

आगजनी गरेको आरोपमा पक्राउ पर्नेहरुमा उदयपुर घर भएका ४० वर्षीय विक्रम राई, नुवाकोटका ३० वर्षीय रामहरि भण्डारी, लमजुङ घर भएका २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, प्युठान घर भएका १८ वर्षीय दीपेन्द्र पुन मगर र काभ्रेका २० वर्षीय आशिष् खड्का छन् ।

उनीहरू विरुद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २६ को दफा–२८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यातायात मजदुरहरुले विभिन्न मागसहित गरेको आन्दोलनको क्रममा सोमबार मजदुर व्यवसायीसहित सर्वसाधारणले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको स्कोर्पियो ९पिकअप० र प्रहरी वृत बालाजुको बा।१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते, बिहीबार


Scroll to Top

Janata Media