राष्ट्रपति निर्वाचन आज, पूर्वसभामुख चुनावी मैदानमा

जनता संवाददाता
२०७९ फाल्गुन २५ गते, बिहीबार

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रप्रमुखको निर्वाचन आज हुँदै छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(एमाले) का उमेदवारले प्रतिष्पर्धा गर्दै छन् ।

निर्वाचन प्रक्रिया अहिले बिहान १० बजेबाट संघीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदै छ । निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ । नतिजा आजै सार्वजनिक गर्ने आयोगले जनाएको छ । नतिजा सार्वजनिक हुनेबित्तिकै नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउनेछ ।

निर्वाचनमा ८८२ मतदाताले भाग लिने आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसबाट उमेदवारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । यस्तै, नेकपा(एमाले)को तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेदवार छन् । कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् ।

कांग्रेस बाहेक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले सहयोग गरेका छन् ।

यता, एमाले उमेदवार सुवास नेम्वाङलाई भने अन्य दलले सहयोग गरेका छैनन् ।

राष्ट्रपतिमा दुवै उमेदवार पूर्वसभामुख हुन् । २०५१ सालको संसद्मा कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख बनेका थिए । यस्तै, नेम्वाङ २०६४ र २०७० को संविधान सभा अध्यक्ष हुन् । उनी ०६३ मा पुनर्स्थापित संसद्को सभामुख हुन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते, बिहीबार


Scroll to Top

Janata Media