उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने राप्रपाको निर्णय

जनता संवाददाता
२०७९ चैत्र १ गते, बुधबार

काठमाडौं । राष्ट्रपति निर्वाचनमा सरिक नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने भएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्त बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले मत नदिने, तटस्थ बस्ने निर्णय गरेको छ ।’ उनले भने ।

त्यसैगरी आजको बैठकले रासायनिक मलको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णयले किसान मारमा परेको भन्दै त्यसलाई तत्काल फिर्ता लिन समेत आग्रह गरेको छ । सरकारले आफ्नो निर्णय फिर्ता नलिएमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय समेत राप्रपाले गरेको छ ।

त्यस्तै बैंकहरुले ब्याज बढाउँदा साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परेको भन्दै उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते, बुधबार


Scroll to Top

Janata Media