गणतन्त्रलाई यथार्थमा रुपान्तरण गर्न एकजुट भएर लाग्नुपर्छ : राष्ट्रपति पौडेल

जनता संवाददाता
२०८० चैत्र ३ गते, शनिबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र रोजगारी बढाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा हामी सबै एकजुट भएर लाग्नु पर्ने जोड दिएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्री राम माध्यमिक विद्यालयमा निर्माण गरिएको सहिद केशव कोइरालाको प्रतिमा अनावरण पश्चात सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो अभियानमा लाग्न जोड दिएका हुन् ।

“संविधान मार्फत प्राप्त मौलिक हकको कार्यान्वयन गरेर विपन्न वर्ग र गरिब जनताको जीवनस्तर उठाउन सक्यौ भने मात्र लोकतन्त्रको सार्थकता यथार्थमा रुपान्तर हुनेछ भने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने , “व्यवस्था परिवर्तन हुने तर जनताको अवस्थामा कुनै सुधार परिवर्तन नआउने हो भने लोकतन्त्रको उद्देश्य पुरा हुन सक्दैन ।”

संविधान बमोजिम प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न संघीय संसदमा प्रतिनिधत्व गर्ने राजीतिक दलका नेतालाई यसको लागि आग्रह गरेको बताए ।

लोकतन्त्र राज्य संचालनको एउटा माध्यम मात्र नभएर जीवन दर्शन र संस्कार बनाएर अगाडि बढे मात्र आज केशव कोइराला जस्ता सहिदहरु, गणेश नेपाली जस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे ।

शनिबार उनले जलेश्वर नगरपालिका–५ चौरियामा नव निर्मित उद्यानको उद्घाटन गर्दै प्रजातान्त्रिक योद्ध स्व।गणेश नेपालीको प्रतिमा अनावरण गरे । उनले शनिबार बिहान जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम् पूजा अर्चन गरे ।

जलेश्वर नगरपालिका ५ मा स्व। गणेश नेपालीको प्रतिमा गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते, शनिबार


Scroll to Top

Janata Media