तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने

तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त भएको थियो।

जनता संवाददाता
२०७९ चैत्र ७ गते, मंगलवार

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त भएको थियो।

सङ्घीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको बताए।

कार्यक्रमबमोजिम मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी वैशाख १० गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

चितवन–२ मा समेत आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त हुन गएको थियो। उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दर्तादेखिको कार्यक्रम सँगसँगै अगाडि बढ्ने आयोगले जनाएको छ।

निर्वाचन आयोगको पदाधिकारी बैठकले दुवै निर्वाचन क्षेत्रमा सहभागी हुने राजनीतिक दललाई चैत ८ देखि १२ गतेसम्म आयोगमा दर्ता गराउन आह्वान गरेको छ। आयोगले चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने जनाएको छ।

निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा गत माघ २९ गतेसम्म नाम दर्ता गराएका व्यक्तिले मात्र वैशाख १० गते मतदान गर्न पाउने बताए। उनले भने, “निर्वाचन आयोगले यस आर्थिक वर्षभित्र हुने सबै उपनिर्वाचनका लागि सोही मितिलाई आधार मानेको छ। माघ २९ गतेसम्म दर्ता भई वैशाख ९ गते १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउनेछन्।” यसअघि भने निर्वाचनको मिति घोषणा भएको दिनसम्म दर्ता हुने व्यक्तिको नाम मतदाता नामावलीमा सूचीकृत हुँदै आएको थियो।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते, मंगलवार


Scroll to Top

Janata Media